सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास र समृद्धिका लागि सङ्घीय व्यवस्थाको विकल्प नरहेको बताउनु भएको छ । प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा कैलालीको धनगढीमा शुक्रवार आयोजित कार्यक्रममा उहाले ठूलो बलिदानी र त्यागवाट प्राप्त सङ्घीय लोकतान्त्रिक व्यवस्थाको विरोध गर्नेबाट सजग हुनु पर्नेमा जोड दिनु भयो । जनचाहना अनुसार अहिलेको व्यवस्था ल्याइएको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले केहीले यो व्यवस्था ठीक छैन, प्रदेश नै आवश्यक छैन भन्नेजस्ता भ्रम फैलाउने कार्य गरिरहेका बताउदै यस्ता भ्रमबाट सबै सजग हुनु पर्ने बताउनु भयो ।
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले प्रदेश सरकारले गरिरहका कामको परिणाम आउन समय लाग्ने बताउँदै प्रदेशको विकासका लागि हिजोको भन्दा फरक ढङ्गले काम गर्नु आवश्यक रहेको बताउनु भयो । सो अवसरमा मुख्य मन्त्री भट्ट, सुदुरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त, सुदुरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले संयुक्त रुपमा सुदूरपश्चिम प्रदेश सरकारले गएकोे तीन वर्षको अवधिमा गरेका उपलब्धि समेटिएको पुस्तक सार्वजनिक गरेका थिए । समारोहमा प्रदेश सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारी, प्रदेश सभा सदस्य उपस्थित थिए । यसअघि शुक्रवार नै मुख्यमन्त्री कार्यालयबाट शुरु भएको प्रभातफेरी बजारका मुख्य मुख्य भाग हुँदै आन्तरिक मामिला तथा कानून मन्त्रालयको परिसरमा पुगेपछि मुख्य समारोहमा परिणत भएको थियो । सुदूरपश्चिम प्रदेशमा प्रजातन्त्र दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा गठन भएको मूल समारोह समितिको पहलमा यही फागुन ६, ७ र ८ गते तीन दिन विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै छ ।
यसैविच सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो तीन बर्से उपलब्धि सार्वजनिक गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा तीन वर्षमा गरेको प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले सुशासन तथा मानवअधिकारको क्षेत्र,कानुन तर्जुमा एवं कार्यान्वयन, सङ्गठन संरचना तथा कार्यालय व्यवस्थापनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गर्नु भयो । सुदुरपश्चिम प्रदेश सरकारले भौतिक पूर्वाधार, आर्थिक विकास, कृषिमा आधुनिक यन्त्रीकरण,पर्यटन तथा गरिवी निवारणको सवालमा ठुलो उपलब्धि हासिल गरेको मुख्यमन्त्री भट्टको दाबी छ । अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको भए पनि जनताका धेरै समस्या समाधान भएको भन्दै मुख्यमन्त्री भट्टले विगतको केन्द्रीकृत राज्य व्यवस्थाले विकासमा फड्को नदिएको अवस्थामा सङ्घीयताले नै विकासमा गति दिएको बताउनु भयो ।
Comments are closed.