कञ्चनपुरमा आइतबारदेखि चौथो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु,

 कञ्चनपुरमा आइतबारदेखि चौथो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । सुदूरपश्चिमकै पर्यटकीय स्थल समेत रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवद्र्धन गर्ने उद्देश्यले कञ्चनपुरको भीमदत्त नगरपालिकाले पर्यटन महोत्सव आयोजना गरेको हो । शुक्लाफाँटा पर्यटन महोत्सव २०७३ सालदेखि आयोजना हुँदै आएको छ । यस वर्ष पनि महोत्सव पर्यटीकय सम्भावनाहरुको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भन्ने नाराका साथ आइतबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको हो ।

 महोत्सवको उद्घाटन नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले गर्नु भएको छ । आइतवार फागुन ९ गतेदेखि सुरु भएको महोत्सव फागुन १५ गतेसम्म सञ्चालन हुनेछ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित सुदूरपश्चिम क्षेत्रका विभिन्न धार्मिक तथा अन्य पर्यटकीय क्षेत्रको समेत महोत्सवका समयमा प्रचारप्रसार गर्ने लक्ष्य राखिएको छ । महोत्सवका माध्यमबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका संरक्षित वन्यजन्तु, विशाल घाँसे मैदान, तालतलैया र दुर्लभ वनस्पतिका बारेमा सहभागीलाई जानकारी पनि गराइने भीमदत्त नगरपालिकाले जनाएको छ ।विश्वमै दुर्लभ बाह्रसिंगाको सबैभन्दा ठूलो बासस्थान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय दृष्टिकोणले निकै नै महत्वपुर्ण रहेको छ ।

यसैविच वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापित परिवारको छिटो पुनस्र्थापन गरिने बताउनु भएको छ । भीमदत्त नगरपालिकाले आयोजना गरेको चौथो शुक्लाफाँटा पर्यटन महोत्सवको उद्घाटन समारोहमा मन्त्री आलेले आयोग बनाएर विस्थापित परिवारको जग्गा फिर्ता गरिने बताउनु भएको हो ।

 शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट १९ वर्ष अघि विस्थापित परिवारको समस्या रहेको र त्यो अहिलेसम्म पुनस्र्थापन हुन नसकेको बताउदै उहाले ती विस्थापितहरुको १९ वर्षदेखि थाती रहेको समस्यालाई सरकारले अब १९ दिनमा हल गर्ने बताउनु भयो । वन तथा वातावरण मन्त्री आलेले आयोग बनाएर विस्थापित परिवारको जग्गा फिर्ता गरिने बताउनु भयो ।

 शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट २०५८ मा तत्कालिन शुक्लाफाँटा वन्जजन्तु आरक्ष विस्तारका क्रममा वासिन्दालाई विस्थापित गरिएको थियो । ती विस्थापित परिवारमध्ये झण्डै दुई हजार पाँच सय परिवारको अझै पुनस्र्थापन हुन सकेको छैन । विस्थापित परिवार पुनस्र्थापन गराउन हालसम्म विभिन्न आयोगहरु गठन भइसकेका भएपनि अझै पुर्ण रुपमा विस्थापितहरुको समस्या समाधान हुने सकेको छैन् ।

 वन तथा वातावरण मन्त्री आलेले फेरि आयोग बनाएर विस्थापित परिवारलाई पुनस्र्थापन गरिने बताउनु भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ढक्का सहित कञ्चनपुरका विभिन्न स्थानमा १४ शिविरमा ती विस्थापित परिवार बस्दै आएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.