प्रधानमन्त्री ओलीद्धारा कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास,

 प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको छ । सोमवार औद्योगिक क्षेत्र निर्माणस्थलमा पुगेर प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो । यसैविच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापना भए देश फेरि राजनीतिक रुपमा अस्थिर र विकृत बन्ने बताउनु भएको छ । सोमबार कञ्चनपुरको वेदकोट नगरपालिकामा छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना भए देश निर्माणको काम प्रभावित हुने बताउनु भएको हो ।

 यसैगरी प्रधानमन्त्री ओलीले कञ्चनपुरकरी बालिका निर्मला पन्तको हत्याका विषयमा सत्यतथ्य छानविन गरी हत्यारालाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिनु भयो । बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटनामा प्रहरीले सफल अनुसन्धान गरेकोमा प्रहरीलाई धन्यवाद दिदै प्रधानमन्त्री ओलीले अब निर्मला पन्तका बलात्कारी र हत्यारालाई पनि छिट्टै कानुनको दायरामा ल्याउने काम गर्न प्रहरीलाई निर्देशन दिनु भएको हो ।

 समाजमा शान्ति सुरक्षा कायम गर्ने, पीडितलाई न्याय र अपराधीलाई दण्ड दिने काम राज्यको भएको भन्दै प्रधानमन्त्री ओलीले कसैको दबाबमा काम गर्न नहुने बताउनु भयो । २०५३ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले सो क्षेत्रलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्न बजेट छुट्टाउनु भएको थियो ।

 पहिलो पटक बजेट विनियोजन भएको करीब अढाई दशकपछि छेला औद्योगिक क्षेत्रको विस्तारका लागि वर्तमान सरकारले चासो दिएर शिलान्यास नै गरेको हो । २९३ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको कार्य शुरू हुने र पछि १ हजार बिघामा विस्तार हुने वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले बताउनु भयो । अहिलेलाई ४०० बिघा जग्गामा भौतिक संरचना बन्नेछ । औद्योगिक क्षेत्रको डीपीआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुने जनाइएको छ ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली नदी बेचेको नभई फिर्ता ल्याएको बताउनु भएको छ । आफुलाई महाकाली सन्धि गरेर नदी बेच्यो भनेर आरोप लगाइने गरेको बताउदै प्रधानमन्त्री ओलीले महाकाली नदी बेचेको नभई त्यत्तिकै अर्काले लगिरहेको पानी आफ्नो खेतमा हाल्ने फैसला गरिएको र फिर्ता ल्याइएको बताउनु भयो । प्रधानमन्त्री ओलीले महकालीको पानी नेपाली किसानको खेतसम्म पुगाउने योजना निर्माणाधीन अवस्थामा रहेको र छिट्टै पूरा हुने बताउनु भयो ।

 दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले सुदूरपश्चिममा ऐतिहासिक काम गरेको दाबी गर्नु भयो । उहाले दार्चुलामा गुमेको नेपाली भूमि फिर्ता ल्याउने प्रक्रियाअगाडि बढेको बताउँदै सुदुरपश्चिम प्रदेशको मात्रै नभई समग्र नेपालको भूमि समेटेर नक्सा र संविधानमा समावेश गर्न सकेका बताउनु भयो । प्रधानमन्त्री ओलीले अब यसले एउटा वातावरण बनेको र भारतसँग सम्वाद भइरहेको बताउनु भयो ।

 कार्यक्रममा प्रधानमन्त्री ओलीले पश्चिम सेती जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण गरिने दाबी गर्नु भयो । सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्र प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकारको नेतृत्वमा सुदूरपश्चिमले विकासको काँचुली फेरिरहेको बताउनुभयो ।

यसैविच प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेका बेला बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्ने अधिकारकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेमा अधिकारर्मी शारदा चन्द, आन्नदी राना, लक्ष्मी मल्ल, निर्मला जोशी भटट, खडक बिष्ट र मिना भण्डारी रहेका छन् । उहाहरुले दैजी बजारमा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाएर निर्मला हत्या प्रकरण विरुद्ध सांकेतिक रुपमा आवाज उठाएका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.