बैतडीकी किशोरी भागरथी भट्टको हत्याका अभियुक्त भनिएका भट्टमाथि थप अनुसन्धानका लागि अझै ५ दिनको म्याद थप,
बैतडीकी किशोरी भागरथी भट्टको हत्याका अभियुक्त भनिएका दिनेश भट्टमाथि थप अनुसन्धानका लागि अझै ५ दिनको म्याद थप गरिएको छ । यसअघि गत बुधबार सार्वजनिक गरिएका दिनेशमाथि अनुसन्धानका लागि अदालतले ५ दिनको लागि अनुमति दिएको थियो । उक्त म्यादमा अनुसन्धान नसकिएकाले थप ५ दिनको लागि अनुमति पाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताउनु भयो । बुधबार नै भागरथीका दाजु शंकर भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गरेका थिए ।
कुनै पनि अपराधमा संलग्न रहेको आरोप लागेका बालबालिकाको हकमा २१ दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । गत माघ २१ गते विद्यालयबाट घर नफर्किएकी खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको लवलेक जंगलमा भागरथीको शव बीभत्स अवस्थामा भेटिएको थियो । त्यसपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त घटनामा दिनेशको संलग्नता रहेको भन्दै सार्वजनिक गरेको थियो ।
सार्वजनिक गरिएका दिनेश भागरथीकै गाउँका हुन् । दिनेभ नातामा भागरथीका भाइ पर्छन् । सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म हत्या मात्रै गरेको र बलात्कार नगरेको बताए पनि बिहीबार सरकारी वकिलसमक्ष दिनेशका बुवासमेत राखेर लिइएको बयानमा बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए । घटना माघ २१ गते दिउँसो नै भएको प्रहरीले जनाएको छ । यसअघि जिल्ला अस्पताल बैतडीमा भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या भएको उल्लेख गरिएको थियो । शुक्रबार भागरथीको शव बुझेर १७ औं दिनमा अन्तेष्टि गरिएको थियो ।
Comments are closed.