बैतडीमा अध्ययन गर्नका लागि विद्यालय गएका छात्राहरु दिनदिनै बेहोस हुन थालेपछि महिनावारी भएको बेला विद्यालय जाने गरेको भन्दै अभिभाव र शिक्षकले क्षमा पूजा गर्ने तयारी गरेका छन् । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १०, रातामाटा स्थित दानेश्वर नागार्जुन माध्यमिक विद्यालय छात्राहरु एकपछि अर्को गर्दै दैनिक रुपमा विद्यायमै बेहोस् हुन थालेको विद्यायले जानकारी दिएको छ । छात्राहरु बेहास हुन थाले पछि फागुन १२ गतेदेखि सञ्चालन हुने परीक्षा १६ गते सम्मका लागि सारिएको विद्यालयका प्रधानाध्यापक गोपाल जोशीले बताउनुभयो ।
प्रधानाध्यापक जोशीले दुई चार दिनपहिले तीनजना छात्रा बेहोस भएर काँप्न थालेका बताउदै फागुन ९ गतेका दिन त ११ जना छात्राहरु एकै चोटी कापेका र त्यसपछि लगातार सबै छात्रा काप्न थालेका बताउनु भयो । यसले गर्दा विद्यालयको पढाई नै प्रभावित बनेको छ । स्थानीय अभिभावकले दानेश्वर नागार्जुन मन्दिरका नामबाट स्थापना भएको विद्यलायमा महिनावारी भएका छात्राहरु आउने गरेकोले क्षमा पूजा गर्न आग्रह गरेको प्रधानाध्यापक जोशीले बताउनुभयो ।
अभिभावकको मन शान्तिका लागि भए पनि पूजारी बोलाएर क्षमा पूजा गरि दिने भनेको बताउदै बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १०, रातामाटा स्थित दानेश्वर नागार्जुन माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाले जोशीले यद्यपि, देवताकै कारण छात्राहरु बेहोस भएका हुन् भन्ने कुनै निश्चित नभएकोले चिकित्सक बोलाएर मनोपरामर्श सञ्चालन गर्नु पर्ने बताउनु भयो । विद्यालयमा चिकित्सको टोली पठाई दिन नगरपालिकासँग आग्रह गरिएको उहाँले बताउनुभयो । छात्राहरु बेहोस हुन थालेको विषयमा जानकारी प्राप्त भएको बताउँदै जिल्ला अस्पताल बैतडीका डाक्टर वशन्तराज जोशीले बुधबारसम्म चिकित्सकको टोली खटाईने बताउनु भयो ।
डाक्टर जोशीका अनुसार किशोर अवस्थामा हुने ‘मास कन्सटेशन डिसअर्डर’ का कारण यस्तो समस्या आएको हो । डाक्टर जोशीले किशोर अवस्थामा हुने शारीरिक विकाससँगै मनमा अनेक कुरा आउने र पूरा हुन नसक्ने कतिपय कुरा मनमै दबाएर राख्दा चेतन मश्तिष्कले त्यो कुरालाई शारीरिक लक्षणका रुपमा व्यक्त गरिदिने बताउदै यस्तो बेलामा मनोपरामर्श नै उपचारको विधि भएको बताउनु भयो ।
विद्यालयका छात्राहरु बेहोस भएको विषयमा शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले यसअघि यस्तै प्रकारको समस्या पञ्चेश्वर गाउँपालिकाको जेबलकट्ट, दशरथचन्द नगरपालिकाको गुरुखोला र सिगास गाउँपालिकाको चौखाममा पनि देखिएको बताउनुभयो । समन्वय इकाइ प्रमुख अवस्थीले मनोपरामर्श गरेपछि यो समस्या समाधान हुने भएकोले महिनावारीका कारणले यस्तो भएको भनेर अभिभावकले भ्रम पालेर आत्तिनु पर्ने अवस्था नरहेको बताउनु भयो ।