कञ्चनपुरका केही स्थानमा जग्गा पाउने आशमा पछिल्लो समय वन क्षेत्र अतिक्रमण

 कञ्चनपुरका केही स्थानमा जग्गा पाउने आशमा पछिल्लो समय वन क्षेत्र अतिक्रमण गरेर टहरा बनाउने क्रम बढ्दै गएको पाइएको छ । वर्षाैदेखि बाढी पीडितका नाममा अतिक्रमित कञ्चनपुरको लालझाडी मोहना संरक्षित क्षेत्रअन्तर्गत भेटघाट शिविर र बयलकुन्डी क्षेत्रमा पछिल्लो समय टहरा बनाउने क्रम झन् बढेको पाइएको छ । जग्गा पाउने लोभमा वन अतिक्रमण गरेर धमाधम टहरा बनाउने क्रम बढेको हो । कञ्चनपुरमा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भएपछि वन क्षेत्रमा धमाधम घरटहरा बन्न थालेका हुन् । एक÷डेढ हप्तायता वन अतिक्रमण गरेर धमाधम घर टहराहरू बनिरहेका सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवदत्त पन्तले बताउनु भयो ।

 डेढ सातायता विभिन्न क्षेत्रमा गरी तीन सय बढी छाप्राहरू थपिएका छन् । सबडिभिजन वन कार्यालय वाणीले मंगलबार बयलकुन्डी क्षेत्रमा एक दर्जन बढी टहराहरू भत्काएको छ । त्यसको अघिल्लो दिन भेटघाट शिविर, त्यस नजिकै कुमगडा, गौजेगडा र एक्लेगडामा ३५ भन्दा बढी टहरा भत्काएको सबडिभिजन वन कार्यालय वाणीका प्रमुख बालमुकुन्द भट्टले बताउनु भयो । टहरा भत्काउँदा झडपकै अवस्था आउने गरेको उहाले बताउनु भयो ।

 भेटघाट शिविरमा बसोबास गर्नेहरू ब्यानर बोकेर आन्दोलनमै निस्किने गरेका छन् । उहाका अनुसार सोही क्षेत्रमा घरजग्गा भएकाले समेत वन क्षेत्रमा टहरा बनाएका छन् । टहरा बनाएर बालबालिका र महिलालाई बसाइएको उहाले बताउनु भयो । भेटघाट शिविरमा २०६५ देखि छाप्राहरू बनाएर बसोबास गर्न थालेका हुन् । बाढीपीडितका नाममा एक सय बढी छाप्राहरू बनाइएका छन् । पछिल्लो पटक नयाँ छाप्रा थपिने क्रम पनि बढेको छ । बयलकुन्डी क्षेत्र मछेली नदी किनारमा पर्छ । त्यहाँ राष्ट्रिय वन अतिक्रमण गरेर घरटहरा निर्माण भइरहेका हुन् ।

 कञ्चनपुरकै पुनर्वास नगरपालिका–९ सीताबस्तीको जनजागरण सामुदायिक वनमा पनि टहरा निर्माणको काम भइरहेको छ । उक्त क्षेत्रमा पनि आधा दर्जन टहरा निर्माण भएको सबडिभिजन वन कार्यालय कुन्डाका सहायक वन अधिकृत दिनेश यादवले बताउनु भयो । कञ्चनपुरका सबै स्थानीय तहमा लगत संकलनको काम सुरु भएको छ । जो जहाँ बसेका छन् त्यही ठाउँमा जमिन दिने हल्ला फैलाइएका कारण घरजमिन भएकाहरू पनि धमाधम वन क्षेत्रमा टहरा निर्माण गरिरहेको सामुदायिक वन समन्वय समितिका अध्यक्ष पन्तले बताउनु भयो ।

 उहाका अनुसार सामुदायिक वनहरूले पनि अतिक्रमण रोकथामको पहल गरिरहेका छन् । पुरानो अतिक्रमित क्षेत्र भेटघाट र बयलकुन्डीमा अहिले धमाधम टहरा बनिरहेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजयविक्रम मानन्धरले बताउनु भयो । पुरानो अतिक्रमणका कारण नयाँ अतिक्रमण हुन थालेको बताउदै उहाले अब आफुहरुले पुरानो अतिक्रमण पनि हटाउने गरी योजना निर्माण गरिरहेका बताउनु भयो ।

 उहाले नयाँ अतिक्रमण हुन नदिन दिनहुँ घर टहराहरू भत्काउने काम भइरहेको बताउनु भयो । कञ्चनपुरमा ८८ हजार २ सय हेक्टर वन क्षेत्र छ । डिभिजन वन कार्यालयका अनुसार भीमदत्त नगरपालिकामा २ सय १, वेदकोटमा ६ सय ३३, शुक्लाफाँटामा ८ सय ७९, कृष्णपुरमा १ हजार ८६, लालझाडीमा ३ सय ८१, बेलौरीमा १२ हेक्टर गरी जिल्लाभरिमा ३ हजार १ सय ९२ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.