सुदुरपश्चिम प्रदेशका विद्यालयहरुमा गुनासो पेटिका राखिने

 सुदुरपश्चिम प्रदेशका विद्यालयहरुमा गुनासो पेटिका राखिने भएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले तयार पारेको कार्यविधि अनुसार गुनासो सुनुवाई संयन्त्रको विकास गर्ने उद्येश्यअनुरुप विद्यालयमा गुनासो पेटिका राखिने भएको छ । विद्यालयका बालबालिकामाथि बेलाबखत देखिन सक्ने जोखिम न्यूनीकरणका लागि वैकल्पिक उपाय, प्रक्रिया र दायित्वबारे शिक्षक, विद्यालय व्यवस्थापन समिति र अन्य सरोकारवालालाई सचेत पार्दै बालबालिको गुनासो सुनुवाइको व्यवस्था गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रले एजुकेशन पेजेज (शिक्षा पत्रकार समूह) लगायतको समन्वय र सहयोगमा कार्यविधि बनाएको छ ।

 कार्यविधिमा व्यवस्था गरिएको गुनासो सुनुवाइ संयन्त्रले बालबालिकालाई बुझ्न र उनीहरुकै गुनासो र सुझाव अनुसार विद्यालयको वातावरण विकास गर्न र विद्यालयको सिकाइ एवम् भौतिक वातावरणलाई लैङ्गिक तथा बालमैत्री बनाई शैक्षिक गुणस्तर बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव गोविन्दप्रसाद पोखरेलले विद्यालयमा खासगरी छात्रालगायतका बालबालिका माथि हुने दुव्र्यहारका घटना न्यूनीकरण गर्नका लागि यो गुनासो सुनुवाइको व्यवस्था गरिएको बताउनु भयो ।

 शिक्षा तथा मानव स्रोत विकास केन्द्रले परिपत्र गरिसकेको भएपनि यो परिपत्रबारेको जानकारी भने मन्त्रालयलाई नभएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव पोखरेलले बताउनु भयो । गुनासो सुनुवाइसम्बन्धी धनगढीमै भएको प्रशिक्षक प्रशिक्षण तालीममा सहभागी शिक्षा तालीम केन्द्र दिपायलका पूर्वकर्मचारी चेतराज पन्तले विद्यालयमा आउने गुनासाको औपचारिकरुपमा सम्बोधन गर्दै विद्यालयको सिकाइ बालमैत्री वातावरणमा होस् भन्ने मनसायले यो गुनासो सुनुवाइको व्यवस्था गरिएको जानकारी दिनु भयो ।

 विद्यालय उमेरका बालबालिकामाथि यौन दुव्र्यवहार, शोषण तथा लैङ्गिक हिंसा हुने जस्ता घटना भइरहेको गुनासो आउने गरेको परिप्रेक्ष्यमा गुनासाको सुनुवाइ व्यवस्थित गर्न गुनासो पेटिका राख्न र एक जना शिक्षकलाई लैङ्गिक सम्पर्क बिन्दु तोक्ने जस्ता प्रावधानको कार्यान्वयनको व्यवस्था गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै विद्यालयलाई परिपत्र गरिसकेको जनाइएको छ । प्रत्येक विद्यालयले विद्यार्थीको गुनासो सङ्कलन गर्नका लागि विद्यालय हातामा बालबालिकाको गोपनीयता एवम् सुरक्षाको सुनिश्चित हुनेगरी उहाहरुले भनेकै ठाउँमा यस्तो पेटिका राख्नुपर्ने, गुनासो गर्न विद्यार्थीलार्ई सहयोग र प्रोत्साहन गर्नुपर्ने र गुनासो सुनुवाइका लागि एक सुनुवाइ समितिको व्यवस्था पनि कार्यविधिमा गरिएको छ ।

 गुनासो पेटिकामा परेका उजुरी वा गुनासाका साथै अन्य माध्यमबाट प्राप्त गुनासाको सुनुवाइ गरी समाधानका लागि सहजीकरण गर्ने काम सुनुवाइ समितिलाई तोकिएको छ । बालबालिकाको विचारको सम्मान, पाठ्यक्रममा आवश्यकताअनुसार सुधार तथा परिवर्तन, गुनासोकर्ताको गोपनीयताको संरक्षण, विद्यालयको वार्षिक प्रतिवेदन तथा पुस्तकालयमा बालसंरक्षणको प्रवद्र्धन, नैतिक शिक्षामा जोड, नियमित अन्तक्र्रिया कार्यक्रममा जोड, गुनासो सुन्ने शिक्षकको क्षमता विकास दण्डसजायको निरोध तथा वैकल्पिक उपायको व्यवस्था, बाल सहभागितको प्रवद्र्धन जस्ता गतिविधि गर्दा गुनासो न्यूनीकरणमा टेवा पुग्ने जनाइएको छ ।

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयन गरिरहेको विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत विद्यालयमा हुने लैङ्गिक शिक्षा, लैङ्गिक सम्पर्क बिन्दुको सुदृढीकरण जस्ता क्रियाकलापका माध्यमबाट विद्यालयलाई लैङ्गिकमैत्री सिकाइ वातावरण भएको स्थलका रुपमा विकास गर्नुपर्ने विषय समेटिएको छ । सिकाइका लागि विद्यालय सुरक्षित रहेको सुनिश्चित गर्ने र बालबालिकालाई विद्यालयमा दुव्र्यवहार गर्ने गतिविधिको पहिचान गरी सोको सम्बोधन गर्न शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई जिम्मेवार बनाउन र सरोकारवालाको गुनासो सुन्ने प्रणालीको सुदृढीकरण गर्ने जस्ता कार्ययोजनालाई विद्यालय क्षेत्र विकास कार्यक्रमले अङ्गीकार गरेको छ ।

सम्बन्धित

Comments are closed.