धनगढीको शारदा र कञ्चनपुरको शारदा सरस्वती विजयी

 कैलालीको धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तरगत मंगलवार भएका खेलमा धनगढीको शारदा मावि र कञ्चनपुरको शारदा सरस्वती विजयी भएका छन् । मंगलवार भएको पहिलो खेलमा त्रिनगर माध्यमिक विद्यालयलाई ६१ रनले पराजित गर्दै शारदाले सुखद सुरुवात गरेको हो । कैलालीको धनगढी स्थित संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको शारदाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५८ रन बनायो ।

 उसका लागि लक्की कडायतले ६७ रनको अर्धशतकीय इनिङ्स खेले भने अविशेक पालले ३२ रन जोड्दा सचिन साउदले २१ रन बनाए । त्रिनगरका खडक नगरकोटीले ४ विकेट र शिशिर थापा मगरले २ विकेट लिए । जवाफी ब्याटिङ गरेको त्रिनगरले १६ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाउन सक्यो । उसका लागि बसन्त थापा मगरले ३० र शिशिर थापा मगरले २८ रन बनाए । शारदाका अविशेक पालले ५ र लक्की खडायतले २ विकेट लिए । खेलका म्यान अफ द म्याच शारदाका अविशेक पाल भए ।

 मंगलवार नै भएको दोस्रो खेलमा कञ्चनपुरको शारदा सरस्वतीले धनगढी नमुनालाई ५ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको धनगढी नमुनाले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनायो । उसका लागि पारस कार्कीले २१ र सुमित सिंहले २० रन बनाए । शारदा सरस्वतीका कैलाश सिंह साउँदले ४ विकेट लिए ।

 ९८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको शारदा सरस्वतीले १० दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । उसका लागि हेमन्त धामीले २५ र गणेश बहादुर विटालुले २३ रन बनाए । धनगढी नमुनाका पारस कार्की र अनुप कुँवरले २÷२ विकेट लिए । खेलका म्यान अफ द म्याच कैलाश सिंह साउँद् भए ।

 लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भईरहेको पाँचौ संस्करणको प्रतियोगिताअन्तरगत बुधवार पनि दुई खेल हुनेछन् । प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २० हजार रुपैया नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ ।

सम्बन्धित

Comments are closed.