सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशनको बैठक स्थगित भएको छ । बुधवार आह्वान गरिएको बैठक स्थगित भएको हो । बैठक स्थगित भएको भन्दै प्रदेश सभामा सूचना टाँस गरिएको छ । सो सूचनामा विशेष कारणले बैठक स्थगित गरिएको उल्लेख गरिएको छ । यसअघि सोमबार आह्वान गरिएको बैठक पनि सूचना टाँस गरी स्थगित भएको थियो । प्रदेश सभाको अर्को बैठक बिहीबार दिउँसो १ बजे आह्वान गरिएको छ ।
प्रदेश सभाको विषयगत समितिमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफाबार छलफल सकिएर बुधवार सभामा पेश गरिने कार्यक्रम रहेको भएपनि सो विधेयकलाई विषयगत समितिले अन्तिम रुप नदिएपछि बैठक स्थगित गरिएको सुदुरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले बताउनु भयो ।
सातौँ अधिवेशनको पाँचौ बैठकसम्म आइपुग्दा सभाबाट एक अध्यादेश र एक ऐन पारित भइसकेको छ भने विजनेश नहुँदा दुई पटक बैठक स्थगित गरिएको छ । प्रदेशको सातौँ अधिवेशन शुरु भएदेखि चौथो बैठकबाट वातावरण संरक्षणसम्बन्धी कानुन संशोधन र एकिकरण गर्न बनेको अध्यादेश र पाँचौँ बैठकबाट सुदूरपश्चिम प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ। अहिले प्रदेश सभाको विषयगत समितिमा चार वटा विधेयक दफाबार छलफलमा रहेका छन् ।