निड्स नेपालको २३ औँ स्थापना दिवश कञ्चनपुरको महेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरु, बाके र बर्दिया जिल्लाहरुमा समेत आफ्नो कार्यक्षेत्र बनाइ काम गरी रहेको निड्स नेपालले आफ्नो २३ औँ स्थापना दिवश सफल उद्यमीहरुलाई सम्मान गरी मनाएको छ । निड्स नेपालका अध्यक्ष अञ्जु जोशी भट्टको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट रहनु भएको थियो ।
त्यसैगरी कार्यक्रममा निड्स नेपालका कार्यकारी निर्र्देशक भवराज रेग्मी लगायत निड्स नेपालका पदाधिकारी, भीमदत्त नगरपालिका क्षेत्र भित्र रहेका विभिन्न उद्यमीहरु, पत्रकार लगायतका सहभागिता रहेको थियो । कार्यक्रममा भीमदत्त नगरपालिका र निड्स नेपालको सहकार्यमा गरिएको उद्यमशीलता कार्यक्रमबाट सफल कार्य गरी सफल उद्यमी बनेका १५ जना किसानहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा बोल्दै निड्स नेपालका अध्यक्ष अञ्जु जोशी भट्टले निड्स नेपालले उद्यमशीलतको विकासका लागि र अन्य विभिन्न समाजका विविध क्षेत्रहरुमा कार्य गरी रहेको र आगामी दिनमा पनि सरोकारवालाहरुसंग समन्वय गर्दै अघि बढ्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले भीमदत्त नगरपालिकाले कृषि र पशुपालनलाई व्यावसायीकरण गर्नका लागि नीति नै लिएको बताउदै कृषिमा व्यावसायिकता ल्याउनका लागि नगरपालिका सबै सरोकारवालाहरुसंग समन्वय गरेर अघि बढ्न तयार रहेको बताउनु भयो । भीमदत्त नगरपालिकाले कृषि र पशुपालनलाई व्यावसायिक बनाउनका लागि सदैव सहयोग गर्ने बताउदै भीमदत्त नगरपालिकाका नगर प्रमुख बिष्टले कृषि क्षेत्रको विकासका लागि कृषकहरुले समेत उत्साहका साथ लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले २०५५ सालमा स्थापना भएको संस्था ९निड्स नेपाल०ले सुरुसुरुमा बाढी प्रभावितहरुको समस्या समाधानका लागि पहल गरेको बताउदै अहिले आएर निड्स नेपालले सुरक्षित आप्रवासन, खाद्य सुरक्षा तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको बताउनु भयो ।
निड्स नेपालका संस्थापक सचिव समेत रहनु भएका रेग्मीले स्थानीय तहहरु तथा अन्य सरोकारवालाहरुसंग मिलेर निड्स नेपालले विपद् व्यवस्थापनका कार्यहरुमा समेत विभिन्न कार्यहरु गरी रहेको बताउनु भयो । कार्यक्रममा भीमदत्त नगरपालिका भित्रका १५ जना किसानहरुलाई सम्मान गर्दै हजारी र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसरी सम्मानित हुनेमा चन्दा धामी, दुखी राना, विष्णु चलाउने, पार्वती थापा, रमेश सुनार, मानमती राना, बीर बहादुर खड्का, बिना चौधरी, छोटकनी चौधरी, दिलराम नाथ, चुडामणि कलौनी, लाल बहरी, हरी लावड र कविता राना रहेका छन् ।
सम्मानित भएकामध्ये एक किसान दिलराम नाथले आफु लामो समयदेखि तरकारी खेती गर्दै आएको बताउदै भीमदत्त नगरपालिका र निड्स नेपालको सहकार्यमा सञ्चालन गरिएको उद्यमशीलता कार्यक्रमबाट आफुलाई निकै फाइदा पुगेको बताउनु भयो । सो कार्यक्रमबाट आफुले टनेल तथा मल बीउ बिजन पाएकाले आफुलाई तरकारी खेती गर्नमा निकै सहयोग मिलेको किसान नाथले बताउनु भयो ।
Comments are closed.