कञ्चनपुरको बेलडाडी गाउँपालिकामा पिछडिएका किशोरीहरूको जनचेतना एवम् अभिमुखिकरण तालिम सम्पन्न

 कञ्चनपुरको बेलडाडी गाउँपालिकामा पिछडिएका किशोरीहरूको जनचेतना एवम् अभिमुखिकरण तालिम सम्पन्न भएको छ । अधिवक्ता कौशल्या ओझा र प्रजापति नेगी द्वारा अभिमुखिकरण तालिम अन्तरगत सहभागि किशोरीहरु लाई प्रशिक्षण दिइएको हो । टेवा संस्थाको आर्थिक सहयोगमा आदर्श महिला समाज नेपाल कञ्चनपुरले आयोजना गरेको उक्त अभिमुखीकरण तालिममा महिला हिंसा तथा बलत्कारका घटना रोकथाम गर्ने उद्देश्य सहित किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिइएको थियो ।

 जबरजस्ती करणीका बेला किशोरीहरुले कसरी आत्मरक्षा गर्ने , हिंसामा परेमा कानुनी सहायता कसरी लिने भन्ने लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षण कार्यक्रम यहि फागुन २० गते बिहीवार र २१ गते शुक्रबार बेलडाँडी गाउँपालिकामा संचालन भएको हो । बिहिबारको कार्यक्रम बेलडाँडी गाउँपालिकाको भवनमा संचालन भएको थियो जसमा बेलडाँडी गाउँपालिका वडा नम्बर १, २ र ३ का गरि ७० जना किशोरीहरुको सहभागीता रहेको थियो ।

 त्यसैगरी शुक्रबारको प्रशिक्षण कार्यक्रममा बेलडाँडी गाउँपालिका ४ स्थित सरस्वती जनता मावि बैवाहमा ३५ जना किशोरीहरु लाइ प्रशिक्षण दिइएको छ । उक्त कार्यक्रममा बेलडाँडी गाउँपालिका वडा नम्बर ४ र ५ का किशोरीहरूको सहभागिता रहेको थियो । सहभागी किशोरीहरूको कार्यक्रमप्रति असाध्यै रुचि र उत्साह देख्दा आफूलाई निकै खुसी लागेको कञ्चनपुरकी महिलाअधिकारकर्मी माया नेगीले शुक्लाफाटा एफएमलाई बताउनुभयो ।

 नेगीका अनुसार उक्त कार्यक्रममा विद्यालयमा अध्ययन गर्ने किशोरीहरु मात्रै नभइ अभिभावक विहिन र विद्यालय छाडिसकेका किशोरीहरूको समेत सहभागिता रहेको थियो । कंचनपुरमा आदर्स महिला समाज नेपालले महिला हिंसा तथा बलात्कारका घटना रोकथाम गर्ने उद्देश्यसहित किशोरीहरुलाई आत्मरक्षा तथा कानुनी सहायता सम्बन्धि प्रशिक्षण दिदै आएको छ ।

सम्बन्धित

Comments are closed.