लिटल फ्लावर प्रिमियर लिग ः शारदाको दोस्रो जित

 कैलालीको धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा शारदा स्कुलले दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा विद्या भूषणलाई ४ विकेटले पराजित गर्दै शारदाले दोस्रो जित निकालेको हो । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको विद्या भुषणले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो ।

 उसका लागि शेर मल्लले ४३ र कप्तान विरेन्द्र नाथले ३८ रन बनाए । शारदाका कुम्बा देउवाले ३ तथा अविशेक पाल र सिफ्टेन अन्सारीले २÷२ विकेट लिए । विद्या भुषणले दिएको १ सय ३४ रनको लक्ष्य शारदाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । शारदाको जितमा लक्की कडायतले ६७ रनको अर्धशतकीय पारी खेले ।

 उनी खेलको प्लेयर अफ दि म्याच समेत चुनिए । विद्या भुषणका नरेन साउदले ३ विकेट लिए । आजको खेलमा शारदा विजयी भएसंगै शारदा र विद्या भूषणको समान ४ अंक भएको छ । भोलि हुने त्रिनगर मावि र लिटल फ्लवारबीचको खेलले सेमिफाइनल पुग्ने टोलीको टुङगो लाग्नेछ ।

 लिटल फ्लवारले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने त्रिनगरले दुबै खेल गुमाएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विजेताले १ लाख २० हजार पाउने छन् । यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५÷५ हजार पाउने छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.