चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित
चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन् । गाउँजजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ ।
बाख्रा, बङ्गुर र गाईलगायतका जनावर चितुवाले खान थालेको परदेशी चौधरीले बताउनु भयो । उहाका अनुसार दुई साताको अवधिमै चितुवाले स्थानीयवासीको गोठमा बाँधेका एक दर्जनभन्दा बढी बङ्गुर र बाख्रा खाएको छ । गाउँका बासिन्दाले पालेका कुकुरसमेत खाएको बताउदै चौधरीले राती कुन बेला आउँछ, पत्तो नै नलाग्ने गरेको बताउनु भयो ।सामुदायिक वन छेउमा खाएको अवशेष मात्रै फेला पार्ने गरेको उहाले बताउनु भयो ।
३५ हजार रुपैया हालेर खरिद गरेको जर्सी गाई चितुवाले गोठमै छिरेर मारेको अवस्थामा फेला परेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ लक्ष्मीपुरका स्थानीयवासी धनबहादुर चौधरीले बताउनु भयो । चितुवाका कारण निकै नोक्सानी व्यहोर्नुपरेको बताउदै उहाले यसलाई नियन्त्रण नगरे मानवीय क्षतिसमेत निम्त्याउन सक्ने बताउनु भयो ।
चितुवाको डरका कारण रातिको समय गाउँका बासिन्दाले हिँडडुल समेत बन्द गरेका छन् । दैनिक गाउँमै छिरेर घरपालुवा जनावर मारेर खान थालेको बताउदै स्थानीय अशोक चौधरीले स–साना बालबालिकालाई समेत आक्रमण गर्ने सम्भावना भएकाले निकै त्रसित भएका बताउनु भयो । सामुदायिक वन संरक्षण गरी उपभोक्ताले हराभरा बनाएपछि चितुवालगायतका जनावर आउन थालेका हुन् । सम्बन्धित निकायसँग कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ लक्ष्मीपुरका बासिन्दाले चितुवा नियन्त्रण गरी मानवीय क्षति हुनबाट जोगाउनका लागि माग गरेका छन् ।