बिहीवार शिवरात्री पर्व मनाइदै छ । शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।
व्रत उत्सव मध्ये सर्वोत्तम भनिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी “ ऊँ नमः शिवाय“ मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्रि पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ ।
निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रिमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्रि पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ ।
अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रिलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् । यस्तै शिवरात्री पर्वको अवशर पारी कञ्चनपुरका विभिन्न क्षेत्रहरुमा मेला तथा महोत्सव आयोजना गरिने भएका छन् । विभिन्न धार्मिक क्षेत्रसंग सम्बन्धित समितिहरुले शिवरात्री पर्वको अवशर पारी मेला तथा महायज्ञ आयोजना गरिने जनाएका छन् ।
यसरी शिवरात्री पर्वको अवशर पारी मेला तथा महायज्ञको आयोजना गरिदा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नभएमा यसले कोरोना भाइरसको संक्रमणलाई बढावा दिने भन्दै स्वास्थ्य क्षेत्रका जानकारहरुले चिन्ता व्यक्त गरेका छन् । यसैविच शिवरात्री पर्वको अवशर पारी मेलाहरुको आयोजना गरिदा स्वास्थ्य सुरक्षाका मापदण्ड कसरी पालना गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर हामीले स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारसंग कुराकानी गरेको छौ । सुरुमा हामीले उहालाई सोधेका थियौ, शिवरात्री पर्वको अवशरमा मेलाहरुको आयोजना गरीदा स्वास्थ्य सुरक्षाको मापदण्ड कसरी पालना गर्न सकिन्छ ?
स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर मात्रै मेला पर्व मनाउन आग्रह गर्नु भएको छ । उहाले कोरोना भाइरस संक्रमणको जोखिम अझैपनि कायमै रहेकाले सकेसम्म मेला पर्वका नाममा भीडभाड नगर्न आग्रह गर्नु भयो । पर्वहरु आगामी वर्षमा पनि आउने भएकाले यो वर्ष कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनगर गर्दै घरघरमै पुजाआजा गरी पर्व मनाउन सकिने उहाको भनाई छ ।