नेकपा एमालेका सुदुरपश्चिम प्रदेश ईन्चार्ज भीम रावल र अध्यक्ष कर्ण थापा पक्षीय कार्यकर्ताहरुबीच झडप

 कैलालीको धनगढी स्थित साविकको नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा नेकपा एमालेको कार्यालय स्थापना गर्ने क्रममा बुधबार नेकपा एमालेका सुदुरपश्चिम प्रदेश ईन्चार्ज भीम रावल र अध्यक्ष कर्ण थापा पक्षीय कार्यकर्ताहरुबीच झडप भएको छ । थापा पक्षले कार्यालयभित्र रहेको ईन्चार्ज रावलको कार्यकक्षको ढोकामा रहेको नाम प्लेट हटाएर लेखराज भट्टको नाम प्लेट टाँसेपछि दुवै पक्षका युवा कार्यकर्ताहरुबीच झडप भएको हो ।

 रावलको प्लेट हटाएपछि हात हालाहाल भएको युवासंघका दिपक सिंहले बताउनु भयो । बिहान रावल पक्षीय कार्यकर्ताले नेकपा (एमाले)को बोर्ड टाँसेका थिए । दिउँसो अध्यक्ष थापा नेतृत्वको समूहले उक्त बोर्ड हटाएर अर्को बोर्ड झुण्ड्यायो । नेकपा एमालेका सुदुरपश्चिम प्रदेश ईन्चार्ज भीम रावल माधवकुमार नेपाल पक्षका र थापा केपी शर्मा ओली पक्षका समर्थक हुन् । जिल्ला प्रशासन कार्यालय कैलालीले भने संभावित झडपको आकलन गरेर बिहानैदेखि कार्यालय परिसरमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेको थियो ।

 एमालेले उक्त भवन भाडामा लिएर प्रदेश कार्यालय स्थापना गरेको थियो । माओवादी केन्द्र र एमालेबीच एकता भएपछि सोही भवनमा नेकपाको प्रदेश कार्यालय स्थापना गरिएको थियो । त्यतिञ्जेल घरधनीसँग नेकपाकै सम्झौता थियो । पछिल्लो समय नेकपाभित्र ओली र दाहाल–नेपाल पक्षबीच दरार आएपछि दाहाल–पक्षीय नेकपाका ईन्चार्ज रहेका रावलले त्यसअघिको सम्झौता भंग गरेर आफ्नै नामबाट घरधनीसँग सम्झौता गर्नु भएको थियो ।

 हाल उक्त कार्यालय भवनको सम्झौता ईन्चार्जका हैसियतले आफ्नो नाममा रहेको नेकपा एमालेका सुदुरपश्चिम प्रदेश ईन्चार्ज भीम रावलले बताउनु भयो । प्रतिनिधिसभा विघटन हुनु अघि नेता भीम रावल नेकपाका प्रदेश इञ्चार्ज थिए। प्रतिनिधिसभा विघटन भएर ओली र प्रचण्ड नेपाल गरी दुई समुह देखिएपछि, प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई हटाएर लेखराज भट्टलाई प्रदेश इञ्चार्ज तोक्नु भएको थियो ।

 ओली पक्षले, अहिलेका पार्टीका प्रदेश इञ्चार्ज लेखराज भट्ट भएकाले उहाको बोर्ड टाँसेको जनाएको छ । पार्टी कार्यालयमा लेखराज भट्टको बोर्ड टाँसेपछि कार्यालय छिरेका नेपाल पक्षका कार्यकर्ताले सो बोर्ड झिकेर तोडेपछि झडप भएको हो । एक पक्षले भीम रावल जिन्दावादका नारा लगाएका थिए भने अर्को पक्षले लेखराज भट्ट जिन्दावाद भन्दै नारा लगाएका थिए ।

 केही बेरमा दुबै पक्षका कार्यकर्ताबीच हात हालाहाल भएको थियो । दुबै पक्षबीच भएको झडपमा घाइते भने कोही नभएको जनाइएको छ । पार्टी कार्यालयमा राखिएका चार थान कुर्सी भाँचिएका छन् । मंगलबार मात्रै नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा भने दुबै पक्षका कार्यकर्ताको सहभागितामा एमालेको बोर्ड टाँसिएको थियो। तर बुधबार प्रदेश इञ्चार्जको बारेमा विवाद हुँदा झडप भएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.