कोरोना भाइरसको संक्रमणको सम्भावना अझैपनि कायमै रहेका बेला कञ्चनपुरमा रहेका कतिपय शैक्षिक संस्थाहरुमा भने स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नभएको पाइएको छ । विद्यार्थीहरुले विद्यालय जादा, विद्यालयबाट फर्किदा, विद्यालय समयमा कक्षाकोठामा अध्ययन गर्दा सामान्य स्वास्थ्य सुरक्षाका मापदण्ड समेत पालना नगरेका पाइएको हो ।
कतिपय विद्यालयमा भने शिक्षक शिक्षिकाहरुले समेत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने गरेको पाइएको भन्दै स्वास्थ्य क्षेत्रका जानकारहरुले चिन्ता व्यक्त गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई उपशाखाका प्रमुख नरेन्द्रराज जोशीले पछिल्लो समय धेरै विद्यार्थीहरुले विद्यालय जादा, विद्यायलबाट फर्किदा मास्क लगाउन छोडिसकेका बताउनु भयो । विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मात्रै सञ्चालन गर्न भनिएको भएपनि त्यसो हुन नसकेको जोशीले बताउनु भयो ।
आफुहरुले विद्यालयमै गएर अनुगमन नगरेको भएपनि विद्यार्थीहरु बिना मास्क विद्यायल जाने गरेका कञ्चनपुरको भीमदत्त नगरपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई उपशाखाका प्रमुख जोशीले बताउनु भयो । अझै कोरोना भाइरसको संक्रमण जोखिम हटि नसकेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई उपशाखाका प्रमुख नरेन्द्रराज जोशीले जोड दिनु भयो ।
यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्र भित्र रहेका अधिकाशं विद्यालयहरुमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पुर्ण रुपमा पालना नभएको पाइएको छ । शिक्षकहरुले प्रयोग गरि रहेको भएपनि विद्यार्थीहरुले भने मास्कको प्रयोग नगरेको पाइएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रराज भट्टले बताउनु भयो । आफुहरुले कतिपय विद्यालयहरुमा अनुगमन गर्दा त्यस्तो पाइएको बताउदै शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखाका प्रमुख भट्टले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नु पर्नेमा आफुहरुको जोड रहेको बताउनु भयो ।
कञ्चनपुरका अन्य पालिकाहरुमा रहेका विद्यालयहरुमध्ये अधिंकाश विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नभएको जनाइएको छ । केही विद्यालयमा शिक्षक शिक्षिकाहरुले मास्कको प्रयोग गरेका भएपनि विद्यार्थीहरुले भने मास्क लगाउन समेत छोडिसकेका जनाइएको छ । नेपालमा अझैपनि दैनिकजसो कोरोनाका संक्रमित देखिनेक्रम कायमै रहेकाले विद्यालय एवम् सम्पुर्ण शैक्षिक संस्थामा कार्यरत शिक्षक कर्मचारी, विद्यार्थीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् ।
Comments are closed.