कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर १ सुख्खडघाटमा करीब पाँच करोड रुपैयाको लागतमा आकर्षक उद्यान निर्माण कार्य सुरु गरिएको छ । यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार समेत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र गाउँपालिकाको संयुक्त साझेदारीमा उद्यान बन्न लागेको हो ।
यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले तीन करोड ३० लाख रुपैया र लालझाडी गाउँपालिकाको एक करोड ५० लाख रुपैयाको लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रम अन्तर्गत उद्यान निर्माण अगाडि बढेको हो । उद्यान निर्माण हुने स्थानको छनोट गरी लालझाडी गाउँपालिकाले पर्खाल लगाउन सुरु गरेको छ ।
उद्यानमा पानीका फोहरा, फूलका क्यारी, फुटपाथ, झुला, सेल्फी प्वाइन्ट, विश्रामस्थल, विभिन्न वस्तुका आकृति, शौचालय, क्यान्टिन, टिकट काउन्टर, चौकीदार घरसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि उद्यानलाई आकर्षक ढङ्गले सजाउने काम गरिने कञ्चनपुरको लालझाडी गाउँपालिका अध्यक्ष मदनसेन वडायकले जानकारी दिनु भयो । उहाका अनुसार उद्यानमा सौर्यबत्तीको व्यवस्थासँगै रङ्गीबिरङ्गी बत्तीसमेत जडान गरिने छन् ।
उद्यानलाई आधुनिक तरिकाले निर्माण गरिने छ । एकैपटक धेरै पर्यटकलाई दृश्यावलोकन गराउन सकिने गरी उद्यान निर्माण हुने बताइएको छ । उद्यान निर्माण गर्दा जैविक विविधतासँगै राना थारू समुदायको संस्कृतिलाई समेत ध्यान दिइने र त्यसबाट यस क्षेत्रको मौलिकता पस्किन सकिने कञ्चनपुरको लालझाडी गाउँपालिका अध्यक्ष मदनसेन वडायकले बताउनु भयो ।
निर्माण हुने उद्यानलाई कञ्चनपुर जिल्लाकै नमूनाका रूपमा बनाइने उहाले बताउनु भयो । उद्यान क्षेत्रसँगै जोडिएको लालझाडी संरक्षण क्षेत्रको दृश्यसमेत पर्यटकले नियाल्न पाउनेछन् । उद्यान क्षेत्रमा पुग्नका लागि कालोपत्र सडक निर्माणलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने योजना गाउँपालिकाले अघि सारेको छ । उद्यान झण्डै १० बिघा क्षेत्रफलमा निर्माण हुनेछ ।