अछाम जिल्लामा छाउपडि प्रथा अन्त्यका लागि सचेतना फैलाइने

 सुदुरपश्चिम प्रदेशका अन्य जिल्लाहरुको तुलनामा बढि छाउपडि प्रथा मानिने अछाम जिल्लामा छाउपडि प्रथा अन्त्यका लागि सचेतना फैलाइने भएको छ । जिल्ला प्रशासन कार्यालय अछामले सरोकारवालाहरुसंग समन्वय गरेर छाउपडी प्रथा अन्त्यका लागि पहल गर्ने भएको हो । आइतवारबाट आफुहरु पालिकाहरुमा जाने र अन्य कार्यक्रमका साथै छाउपडि प्रथाको अन्त्यका लागि सचेतना फैलाउने कार्य समेत गर्ने अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।

 उहाका अनुसार छाउपडी प्रथाको अन्त्यका लागि छाउगोठ भत्काउने तथा अन्य सचेतनामुलक कार्यहरु गरिने छन् । यसअघि अछामका तत्कालिन प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले आफ्नो नेतृत्वमा छोउपडि गोठ भत्काउने अभियान सञ्चालन गर्नु भएको थियो । त्यो कार्यलाई निरन्तरता दिनु हुन्छ त भन्ने प्रश्नका अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले राम्रा कामहरुलाई आफुले पनि निरन्तरता दिने बताउनु भयो ।

 आइतवारदेखि अछामका विभिन्न पालिकाहरुमा जाने र त्यहाका बुद्धिजीवी, समाजसेवी तथा अन्य सरोकारवालाहरुसंग छलफल तथा समन्वय गरी छाउपडी प्रथाको अन्त्यका लागि पहल गरिने अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिनु भयो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउन पहिले छाउ गोठ भत्काउने अभियान अन्र्तगत ठुलो संख्यामा छाउगोठ भत्काइएका थिए । सरकारले लकडाउन हटाइसकेपछि पनि जिल्ला प्रशासन कार्यालय अछामले प्रहरी प्रशासन, पालिकाका जनप्रतिनिधीहरु, समाजसेवी, बुद्धिजीवी तथा अन्य सरोकारवालाहरुको समन्वयमा छाउगोठ भत्काउने अभियान पुन ः सुरु गरेको थियो ।

 अछाममा छाउ गोठ भत्काउने अभियान नै सञ्चालन गरिएको भएपनि कतिपय स्थानमा भने भत्काइएका छाउगोठ पुन ः मर्मत गरी छाउ (महिनावारी) भएका बेला पुन छाउगोठमा बस्ने गरेका पाइएको थियो । छाउगोठ भत्काउदैमा छाउपडी प्रथाको अन्त्य नहुने भएकाले छाउपडी प्रथाको अन्त्यका लागि सबैभन्दा पहिले सोचमा परिवर्तन गर्न आवश्यक रहेकाले सोच परिवर्तन गराउनमा ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

सम्बन्धित

Comments are closed.