हाते कागज उद्योग दुई वर्षदेखि बन्द

 बझाङको जयपृथ्वी नगरपालिका कैलाशमा रहेको मालिका हाते कागज उद्योग व्यवस्थापनको लापरवाहीका कारण दुई वर्षदेखि बन्द छ। दिगो वन व्यवस्थापन सम्बन्धी प्रमाण दिने अन्र्तराष्ट्रिय संस्था ‘फरेस्ट स्टेवार्डसिप काउन्सिल (एफएससी)’ बाट प्रमाणित कागज उद्योग उद्योग हुँदा संरचना र उपकरणहरू अलपत्र परेका छन् । काठहरू पनि चोरेर लगिएका कारण भवन भत्किने अवस्थामा छ । हाते कागज बनाउँदा पानी जम्मा गर्ने पोखरीहरू भत्किएका छन् ।

 कागज बनाउने काठका फ्रेमहरू स्थानीयले दाउरा बनाउन प्रयोग गरेका छन् । लाखौं मुल्य पर्ने विटर (कागज बनाउन प्रयोग गरिने लोक्ता फिट्ने) मेसिनहरू खिया लागेका छन् भने मेसिनका महत्वपूर्ण पार्टहरू चोरी भएका छन् । उद्योग भवनमा रहेका खानेपानीका पाइप, लोक्ता पकाउने ड्रम, कागज बनाउदा प्रयोग गरिने काष्टिक सोडा, नुरी लगायतका रसायनहरू समेत चोरी भएका छन् । कुनै बेला स्थानीयको रोजगारीको केन्द्रको रुपमा रहेको हाते कागज उद्योगको घेरबार भत्किएर अहिले गौचरनमा परिणत भएको छ ।

 उद्योग बन्द हुँदा झण्डै एक करोड रुपैया बराबरको स्थानीय समुदाय र विभिन्न दातृ संस्थाहरुको लगानी खेर गएको छ । २०५६ सालमा साविक कैलाश गाउ विकास समितिका स्थानीय र अन्तराष्ट्रिय गैर सरकारी संस्था एन्साबको पहलमा सो उद्योगको स्थापना भएको थियो । कैलाशमा रहेको विनायक पिमिडाँडा सामुदायिक वनमा आवद्ध २ सय ५० परिवारको सेयर रहेको यस उद्योगलाई एन्साबले त्यस समय पाँच लाख रुपैया बरावरको उपकरण र प्रविधिमा अनुदान सहयोग गरेको थियो । त्यसयता उद्योगको संचालन, प्राविधिक क्षमता विकास, बजार व्यवस्थापन, पुर्वाधार निर्माण र नविनतम् प्रविधिका उपकरण खरिद गर्न विभिन्न संघ संस्थाले एक करोड रुपैया बराबरको सहयोग गरिसकेका छन् ।

 उद्योग संचालनमा हुँदा दुर्गम पिमि गाउँका स्थानीयलाई ठूलो आर्थिक टेवा दिएको थियो । उद्योगले प्रत्यक्ष र अप्रत्यक्ष गरी तीन सय भन्दा बढीलाई रोजगारी दिइरहेको थियो । उद्योग संचालनमा हुँदा श्रीमान विदेशमा रहेका महिलाहरूले पनि लोक्ता संकलन गरेर दिनमा ५–७ सय रुपैयाँ कमाउने गरेको उद्योगका संस्थापक कर्मचारी विजय सिंहले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.