कैलालीको धनगढीमा भएको मेयर एसपिए कप भलिबल प्रतियोगिताको उपाधि आयोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिएले जितेको छ । शनिबार भएको फाईनलमा अत्तरियाको दुर्गालक्ष्मी माविलाई हराउँदै एसपिए च्याम्पीयन बनेको हो । सुदूरपश्चिमाञ्चल एकेडेमीको आयोजना तथा धनगढी उप–महानगरपालिकाको सहयोगमा भएको छात्रा भलिबल प्रतियोगिताको उपाधि प्रतिस्पर्धामा धनगढीको एसपिएले अत्तरियाको दुर्गालक्ष्मीलाई वेष्ट अफ फाईभमा ३–० को सोझो सेटमा पराजित गरेको हो । एसपिएले दुर्गालक्ष्मीलाई २५–१९, २६–२४ र २५–१२ को स्कोरले हराउँदै नगद ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ ।
उपविजेता दुर्गालक्ष्मी माध्यमिक विद्यालयले नगद २५ हजार रुपैया सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा शान्ति माध्यमिक विद्यालय तेस्रो भएको छ । शान्ति माध्यमिक विद्यालयले दिपेन्द्र चापपाते माध्यमिक विद्यालयमाथि ३–० को सोझो सेटको जित हात पारेको हो । तेस्रो स्थानका लागि भएको खेलमा शान्ति माध्यमिक विद्यालयले दिपेन्द्र चारपातेलाई २५–१६, २५–६ र २५–७ को स्कोरमा हराउँदै नगद १५ हजार रुपैया सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तीन दिनसम्म कैलालीको धनगढीमा सञ्चालन भएको मेयर एसपिए कप छात्रा भलिबल प्रतियोगितामा एसपिएकी गरिमा वोहोरा प्लेयर अफ द टुर्नामेन्ट भईन् ।
त्यस्तै एसपिएकी राधिका ऐर वेष्ट स्पाईकर, एसपिएकी निर्मला ओझा वेष्ट डिफेन्डर र एसपिकै निर्मला वोहोरा वेष्ट सर्भर भईन् । दुर्गालक्ष्मीकी पुष्पा धामी वेष्ट सेटर भईन् । प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमबा बीचमा पुरस्कार वितरण गरिएको छ । आयोजक सुदूरपश्चिमाञ्चल एकेडेमीका क्याम्पस प्रमुख कटकवहादुर अप्रेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष दिपक थापा रहनु भएको थियो । प्रतियोगितामा कैलालीका आठ वटा टीमहरुले भाग लिएका थिए ।