कञ्चनपुरका विभिन्न पालिकाहरुले प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई नगर्ने गरेका पाइएको छ । प्रत्येक चौमासिकमा आफुले सम्पादन गरेका कार्यहरु र सञ्चालन गरी रहेका कार्यका विषयमा पालिका वासीहरुलाई जानकारी गराउनका लागि प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई गर्नुपर्ने भएपनि कञ्चनपुरका विभिन्न पालिकाहरुले त्यसो नगरेको पाइएको हो ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐरले चालू आर्थिक बर्षको अहिलेसम्मको अवधिमा एक पटक पनि सार्वजनिक सुनुवाइ नभएको शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । वडा तहमा भने समय समयमा सार्वजनिक सुनुवाइ भइरहेको बताउदै शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख ऐरले गत आर्थिक बर्ष २०७६÷७७ मा पनि कोरोनाको प्रभावका कारण सार्वजनिक सुनुवाइ गर्न नसकिएको बताउनु भयो ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि चालू आर्थिक वर्षको अहिलेसम्मको अवधिमा एकचोटि पनि सार्वजनिक सुनुवाइ नभएको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता हिमाल बहादुर चन्दले जानकारी दिनु भयो । नगर प्रवक्ता चन्दले चालू आर्थिक वर्षको अहिलेसम्मको अवधिमा एकपटक पनि सार्वजनिक सुनुवाइ नभएको भए पनि सार्वजनिक सुनवाइको प्रकिया केही दिन पछि अघि बढ्ने बताउनु भयो । गत आर्थिक वर्षमा भीमदत्त नगरपालिकाका सम्पुर्ण वडाहरुमा सार्वजनिक सुनुवाई गरिएको र अन्तिममा नगरपालिकामा पनि एक पटक सार्वजनिक सुनुवाइ गरिएको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता चन्दले बताउनु भयो ।
यसैगरी कञ्चनपुरको वेदकोट नगरपालिकामा पनि प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई नभइ रहेको पाइएको छ । प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई नभइ रहेको वेदकोट नगरपालिकाका नगर प्रवक्ता नरेश बहादुर सिंहले जानकारी दिनु भयो । यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पनि चालु आर्थिक वर्ष २०७७÷७८ मा हालसम्म सार्वजनिक सुनुवाई नगरेको जनाइएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका सुचना अधिकारी प्रेम बोगटीले चालु आर्थिक वर्ष २०७७÷७८ मा हालसम्म सार्वजनिक सुनुवाई नगरेको शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । स्थानीय तहहरुले सम्पादन गरेका कार्यहरु र सञ्चालन गरी रहेका कार्यका विषयमा पालिका वासीहरुलाई जानकारी गराउनका लागि प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रावधान अनुसार सार्वजनिक सुनुवाई गरेर पारदर्शितामा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।