सरकारले भारतसँग सीमा जोडिएका सिमानाका खुला गर्ने निर्णय गरे पनि कैलालीको सत्ती भन्सार नाका अझै आवतजावतका लागि खुला भएको छैन । नाका नखुल्दा अहिले दैनिक सयौँ भारतीय नागरिक लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् । खुला सिमानाका कारण नेपाली तथा भारतीय नागरिक लुकिछिपी नेपाल–भारत प्रवेश गर्ने गरेका छन् ।
पहिले सो भन्सार कार्यालयमा मात्र सीमासुरक्षा प्रहरीको क्याम्प रहँदा लुकिछिपी आउने क्रमलाई रोक्न चुनौती रहे पनि अहिले एक किलोमिटरको दूरीमा सीमा सुरक्षा प्रहरीको क्याम्प स्थापना भएको छ । अवैधरुपमा प्रवेश गर्नेको क्रम भने घट्नुको साटो दिन प्रतिदिन बढ्दै गएको छ । सरकारले भारतीय नागरिकलाई कोरोना नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य गरेको छ ।
भारतको तिकुनियाँका हरिश कुरेसीले प्रहरीको आँखा छलेर आफूहरु कामका लागि नेपाल प्रवेश गरेको जानकारी दिनु भयो । खक्रौला बोर्डर आउट पोष्टका प्रमुख पदमराज भट्टले भन्सारमा सामान आयात निर्यात भए पनि मानिसको आवतजावत भने नभएको दाबी गर्नु भयो । उहाले भारतीय नागरिक नेपाल प्रवेश गरेको सूचना आफूहरुलाई पनि आएको जनाउँदै लुकिछिपी प्रवेश गर्ने ती नाकामा आफ्नो कार्यक्षेत्र नपरेको बताउनु भयो ।
कालाकुण्डा बिओपी प्रमुख केशव गोइलाले भारतीय नागरिकलाई रोक्नका लागि आफैँ लागिपरेको जानकारी दिदैँ आफ्नो कार्यक्षेत्रभन्दा बाहिरबाट भारतीय नागरिक प्रवेश गर्ने गरेको बताउनु भयो । चोरीका नाकाबाट भारतीय नागरिक मात्र नभई त्यही मात्रामा नेपाली भारतीय बजार दैनिक उपभोग्य सामानका लागि जाने गरेका छन् ।
मरियाघाट बिओपी प्रमुख मुक्ति खड्काले प्रहरीले २४ सै घण्टा ड्युटी दिन नसक्ने जनाउँदै प्रहरीका आँखा छलेर नागरिकको आवागमन हुने गरेको बताउनु भयो । अहिले भारतसँग जोडिएका सीमानाका खुकुलो हुँदै जाँदा र नागरिकको आवागमन बढ्दा भन्सार कार्यालयको राजश्व संकलनमा समेत गिरावट आएको छ । भन्सार कार्यालयमा अघिल्ला पाँच महीनाको तुलनामा पुस र माघ महीनामा राजश्वमा गिरावट आएको सत्ती भन्सार कार्यालय खक्रौलाका प्रमुख विमलकुमार शाहले बताउनु भयो । कार्यालयले गत मङ्सिर महीनासम्ममा वार्षिक लक्ष्य पूरा गरिसकेको भएपनि पछिल्ला दुई महीनामा राजश्व संकलनमा केही कमी देखिएको उहाले जानकारी दिनु भयो ।
सत्ती भन्सार कार्यालय खक्रौलाका प्रमुख शाहका अनुसार मङ्सिरमा एक करोड ४८ लाख ४७ हजार रुपैया, पुसमा एक करोड ४२ लाख ४७ हजार रुपैया र माघमा एक करोड ३४ लाख २५ हजार रुपैया राजश्व संकलन भएको थियो । अहिले कैलालीका सीमाक्षेत्रमा १४ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएका छन् ।
Comments are closed.