सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न संकायमा शुल्क वृद्धि गरेको भन्दै विद्यार्थी संगठन विरोधमा

 सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न संकायमा शुल्क वृद्धि गरेको भन्दै विद्यार्थी संगठन विरोधमा उत्रिएका छन् । विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि विभिन्न संकायमा शुल्क वृद्धि गरेपछि कञ्चनपुरमा जिल्लामा क्रियाशील ५ वटा विद्यार्थी संगठन विरोधमा रहेका हुन् । अखिल क्रान्तिकारी कञ्चनपुरका नेता कैलाशचन्द्र गिरीले विश्वविद्यालयले विद्यार्थीलाई मारमा पार्ने तरिकाले शुल्क वृद्धि भएको विरोधमा पहिलो चरणमा पाँच विद्यार्थी संगठनले संयुक्त ध्यानाकषर्णस्वरूप विज्ञप्ति जारी गरेको बताउनु भयो ।

 अहिले आफुहरुले विज्ञप्ति जारी गरेर विश्वविद्यालयको ध्यानाकर्षण गराएका बताउदै उहाले विद्यार्थी संगठनले उठान गरेको मुद्दामा विश्वविद्यालय गम्भीर नभए सशक्त आन्दोलन गर्ने बताउनु भयो । अखिल छैटौँका केन्द्रीय सचिव एव कञ्चनपुरका विद्यार्थी नेता महेशराज जोशीले जनताको रगतपसिनाबाट आएको विश्वविद्यालयमा केही व्यक्ति र नेतृत्वले दलहरूको चाकडी गरेर मनोमानी गरिरहेको आरोप लगाउनु भयो ।

 शैक्षिक गुणस्तर वृद्धिका लागि काम गर्नुको साटो मनोमानी काम गरिरहेकाले आफुहरुले त्यसको विरुद्धमा आन्दोलन थाल्ने बताउनु भयो । एमाले निकट अनेरास्ववियु, कांग्रेसनिकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा विप्लवनिकट क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँले संयुक्त विज्ञप्तिका रूपमा जारी गरेको विज्ञप्तिमा सरकारको पूर्ण लगानीमा सञ्चालित विश्वविद्यालयले चर्को शुल्क निर्धारण गरेको, परीक्षा शुल्क वृद्धि गरेर विद्यार्थीलाई मारमा पारेको उल्लेख छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.