महाकालीको बहाव परिवर्तन गरेर भारतले एकतर्फी रूपमा तटबन्ध निर्माण गर्दै

 नेपालले काम रोक्न पत्राचार गरे पनि अटेर गर्दै भारतले सीमा नदी महाकालीको बहाव परिवर्तन गरेर दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको छ । सीमा नदीमा संरचना निर्माण गर्दा दुवै देशको सहकार्यमा बनाउनुपर्ने प्रचलनविपरीत नेपाली पक्षसँग समन्वय नगरी भारतले धमाधम तटबन्ध बनाइरहेको हो ।

 गत पुसमै महाकालीको धार बदलिने गरी काम थाल्दा जिल्ला प्रशासन कार्यालय दार्चुलाले रोक्न भन्दै पत्राचार गरेको थियो । त्यसको बेवास्ता गर्दै भारतले करिब एक सय २० मिटर लामो तटबन्ध निर्माण गरिसकेको छ । अझै करिब २०–२५ मिटरमा जग राख्ने काम भइरहेको छ । महाकालीको धार नेपालतर्फ फर्काएर संरचना निर्माण गरिरहेकाले बर्खामा बाढी र कटानको जोखिम बढेको छ । महाकाली पारिको नेपाली भूमिमै भारतले तटबन्ध बनाउन सुरु गरेपछि पुस २५÷२६ गते नापी विभागको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर त्यसको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएको थियो ।

 तर परराष्ट्र मन्त्रालयले अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन । नेपालको कति क्षेत्रफलमा भारतले तटबन्ध बनाएको भन्नेबारे स्थलगत अध्ययन गर्न आएको टोलीको नापी विभाग प्रमुख दयानन्द जोशीले नेतृत्व गर्नु भएको थियो । परराष्ट्र प्रवक्ता सेवा लम्सालले भने नापीको उक्त प्रतिवेदनबारे जानकारी नै नभएको बताउनु भयो । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि त्यसबारे अहिले कुनै जानकारी प्राप्त नभएको बताउनु भयो ।

 २०७० सालको बाढीअघि नदी बग्ने क्षेत्रबारे स्थानीयसँग बुझ्दा र नापी कार्यालयमा रहेको नक्सा हेर्दा भारतले करिब २५–३० मिटर वरसम्मको नेपाली भूभागमा तटबन्ध निर्माण गरेको देखिएको महाकाली नदी नियन्त्रण आयोजनाका निर्देशक शोभाकर पौडेलले बताउनु भयो । दार्चुलाका महाकाली छेउका स्थानीयले पनि नदीले धार परिवर्तन गर्दा नेपालको भूभाग भारततिर गएको बताएका छन् । दार्चुलाको गल्फैका स्थानीय लोकमणि ठगुन्नाका अनुसार नदी किनारमा गाउँलेले खेल्ने पूरै भाग हाल नदीपारि गइसकेको छ । भू–संरक्षण कार्यालय र त्यसको वरपट्टिको भाग नदीपारि सरेको छ ।

 २०७० साल असारको बाढीपछि नेपालले महाकाली किनारमा पक्की तटबन्ध निर्माण गर्दा अन्तर्राष्ट्रिय मान्यताअनुसार काम सुरु गरेको थियो । भारतले भने एकलौटी रूपमा काम अघि बढाएको स्थानीयको गुनासो छ । विगतमा पनि भारतले महाकाली किनारमा नदीको धार परिवर्तन हुने गरी संरचना राखेकाले सदरमुकाम क्षेत्रमा नेपालतिर बढी क्षति भएको नेपाली अधिकारीहरूको बुझाइ छ । तत्कालीन समयमा स्थानीयले त्यसको विरोध गरे पनि भारतले अटेर गरी ‘स्कर्ड’ (किनारामा नदीको पानी रोक्ने संरचना) निर्माण गरेको दार्चुलाको घाटबजारका बासिन्दा जयभानसिंह बडालले बताउनु भयो ।

 ती ‘स्कर्ड’ ले गर्दा बँगाबगड र पुलघाट क्षेत्रमा महाकाली बाढीले क्षति पु¥याएको छ । अहिले अस्पताल पारिपट्टि नदीको धार परिवर्तन गरेर भारतले तटबन्ध बनाइरहेको छ । उक्त क्षेत्रमा दिनहुँजसो एक्स्काभेटरले नदी छेउमै पुगेर पानीलाई नेपालतर्फ फर्काएर तटबन्धको जग खनिरहेको महाकाली नदी नियन्त्रण आयोजनाले जनाएको छ । उक्त संरचनाबारे भारतमै गएर कस्तो प्रविधि र मोडलको तटबन्ध निर्माण भइरहेको हो भन्नेबारे नेपाल पक्षले अहिलेसम्म बुझ्न सकेको छैन । नजिकै नेपालबाटै हेरेर ‘पीसीसी मोडल’ मा बाँध राखिरहेको भन्न सकिने महाकाली नदी नियन्त्रण आयोजनाका निर्देशक शोभाकर पौडेलले बताउनु भयो ।

 नेपाल तर्फ नदी किनारबाट ५–७ मिटरभित्र तटबन्ध निर्माण गरी भारतले नदीको धार नै परिवर्तन गरिरहेको बताउदै उहाले अहिले नदीमा पानी कम भएपनि वर्षात्मा पानीको मात्रा अधिक हुँदा यसले हाम्रोतर्फ तटबन्ध सुरक्षाका लागि बनाएको संरचनामा क्षति गर्न सक्ने सम्भावना धेरै रहेको बताउनु भयो । सीमामा बसेर हेर्दा एकलौटी रूपमा भारतले मिचेको दृश्यले ‘बडा बिजोग लागेको’ नेपाली अधिकारीहरू बताउँछन् । रोक्न भनेर प्रशासनदेखि मन्त्रालयबाट भारतलाई पत्राचार गरे पनि फिल्डमा हेर्दा केही पहल नभएकोमा उहाहरू दुःखी छन् ।

 अन्तर्राष्ट्रिय सीमा नदीको वारिपारि नेपाल–भारतको सर्भे टोलीले निर्धारण गरेको बिन्दुलाई आधार मानेर दुवै क्षेत्रका अधिकारीको समन्वयमा सीमामा संरचना निर्माण गर्ने सहमति भएको थियो । महाकालीको तलदेखि माथिसम्म नेपाल–भारतको सीमा बिन्दु कायम गरिएका छन् । अहिले नदीले धार परिवर्तन गरेको भए पनि नेपाल र भारतको सीमा सर्भे टोलीले बिन्दु किटान गरिसकेकाले त्यही आधारमा संरचना बनाउनुपर्ने नेपाली अधिकारीहरूको भनाइ छ । यसरी नै संरचना निर्माण भए हाम्रोतिर बनेको संरचनामा क्षति हुने सम्भावना रहेको स्थानीय एवं सेवानिवृत्त पूर्वसिनियर इन्जिनियर महेन्द्रप्रसाद बडूले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.