जनगणना तयारी गर्न बझाङमा कार्यालय स्थापना भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना, २०७८ देशभर सञ्चालन हुँदैछ । बझाङमा जनगणना २०७८ का लागि ३६० जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाका लागि सुपरीवेक्षक र गणक परिचालन गरिने भएको हो । जम्मा ८४ सुपरीवेक्षक र २७६ जना गणक परिचालन हुने तथा जिल्लाको भुगोल अनुसार थप पनि हुन सक्ने जिल्ला जनगणना अधिकारी दिपेन्द्र सिंह धामीले बताउनु भयो ।
सुपरीवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन् । अहिले जनगणनाको लागि प्राविधिक तयारी भइरहेको छ । उहाहरूले २०७८ वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन् । गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्नेछन् । यस वर्ष जनगणनामा मुख्य प्रश्नावली ३ वटा र ३७ वटा महलसम्म प्रश्न समावेश गरिने भएको छ । फागुन मसान्तसम्म अनलाइनमार्फत र अनलाइनमार्फत नभरेकाले चैत ५ देखि ११ गतेसम्म कार्यालयमा गएर आवेदन दिन सक्नेछन् ।
जिल्लामा मुख्य कार्यालय गरी बझाङमा ४ ठाउँमा इलाका कार्यालय स्थापना हुने भएको छ । जसमा जिल्ला जनगणना कार्यालय चैनपुर अन्तरगत जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, मष्टा,छबीस र सुर्मा गाउँपालिकालाई हेर्ने भएको छ भने केदारस्युँ गाउँपालिका अन्तरगत रहेको कार्यालयले केदारस्यूँ, दुर्गाथली र थलारा गाउँपालिकालाई हेर्ने र तलकोट गाउँपालिका अन्तरगत रहेको जनगणना कार्यालयले तलकोट र साइपाल गाउँपालिका हेर्ने भएको छ ।
यस्तै, बुंगल नगरपालिकामा रहेको कार्यालयले बुंगल नगरपालिका र वित्थडचीर गाउँपालिका हेर्नेछ । जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्म विभिन्न समिति निर्माण गरिँदैछ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना र समन्वय समितिका प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्लाभित्रका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र निमार्ण गरिने भएको छ ।
साथै २०७८ को जनगणनामा विगतको प्रश्नावलीभन्दा यो जनगणनामा वडामै गएर सुपरीवेक्षकले सामुदायिक प्रश्नावली समेत सोध्ने र जसमा वडा,गाउँटोल नाम, मुख्य र गैर कृषि उपज, वडाको राजश्व स्रोत, जातजाति, मातृ भाषा, आर्थिक पुर्वाधार र विपदको अवस्था र वर्षभर विपदका कारण मृत्यु भएका र बालीनाली क्षति भएको लगायतका प्रश्नावलीहरू समेत समेटिएको जिल्ला जनगणना अधिकारी धामीले बताउनु भयो ।
Comments are closed.