भारतमा कोरोना संक्रमणदर बढ्न थालेपछि सुदूरपश्चिममा भारतसँग जोडिएका सिमा नाकाबाट फर्किने नागरिकहरुको एन्टीजेनबाट परिक्षण गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले सुदूरपश्चिमका ४ वटा नाकाबाट स्वदेश फर्कने नागरिकहरुको एन्टीजेनबाट कोरोना परिक्षण गर्न अनुरोध गरेको हो ।
भारतका विभिन्न शहरहरुमा कोरोना संक्रमणको दोश्रो लहर आउन थालेको र भारतले दोश्रो लहर देखा परेको शहरहरुमा लकडाउन लगायतका अन्य प्रभावकारी कदमहरु लागु गर्दै गएको छ । त्यसकारण सुदूरपश्चिम प्रदेशमा भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाकाहरुमा ४ वटा नाकामा अनिवार्य एन्टीजेन परीक्षणको व्यवस्था मिलाउन अनुरोध गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिनु भयो । उहाका अनुसार कैलालीको त्रिनगर नाका, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलामा स्थापना भएको हेल्थ डेस्कबाट भारतमा काम गरेर फर्केका नागरिकहरुको अनिवार्य एन्टीजेनबाट परीक्षणको व्यवस्था मिलाउन निर्देशन दिईएको हो । आवश्यक एन्टीजेन किटको लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीसँग समन्वय गर्न आग्रह गरिएको छ । परिक्षणका क्रममा कोरोना पोजेटिभ भेटिएमा त्यस्ता व्यक्तिहरुलाई आइसोलेसनमा बस्ने व्यवस्था मिलाउन हुन समेत अनुरोध गरिएको छ ।
Comments are closed.