कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ मा सञ्चालन भएको दुई दिने तरकारी खेती सम्बन्धी तालिम बुधवार सम्पन्न भएको छ । मुख्यमन्त्री कृषि कार्यक्रम अन्र्तगतको नमुना गाउ तरकारी खेती कार्यक्रम सुरु भएसंगै तरकारी खेती सम्बन्धी २ दिने तालिम सुरु भएको थियो ।
तालिमको पहिलो दिन मंगलवार वेदकोट नगरपालिका वडा नम्बर ७ मा रहेका चारओटा क्लष्टर मध्ये १ र ४ का क्लष्टरका किसानहरुको सहभागिता रहेको थियो भने तालिमको दोस्रो तथा अन्तिम दिन क्लष्टर २ र ३ का ५० जना किसानहरुको सहभागिता रहेको थियो । तालिममा माटोको चेकजाँच र खाद्य वस्तुको उत्पादनका लागि आवश्यक पर्ने विभिन्न तत्वहरुका बारेमा जानकारी गराइएको मुख्यमन्त्री कृषि कार्यक्रम अन्र्तगतको नमुना गाउ तरकारी खेती समन्वय समितिका अध्यक्ष गोपाल नाथले जानकारी दिनु भयो ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरको आयोजनामा भएको तालिममा कृषि ज्ञान केन्द्र कञ्चनपुरका जागृत खनाल, हरीदत्त जोशी, कमल नयन पन्त र प्रेरणा जोशीले प्रशिक्षण दिएका हुन् । मुख्यमन्त्री कृषि कार्यक्रम अन्र्तगतको नमुना गाउ तरकारी खेती कार्यक्रम तीन वर्षे कार्यक्रम हो ।