२०६५ सालदेखि शुरू भएको महाकाली कोरिडोर दार्चुला तिंकर सडक योजनाको शुरुआत विन्दुमा काम अघि बढ्न सकेको थिएन ।
महाकाली कोरिडोर दार्चुला तिंकर सडक योजनाका इञ्जिनीयर राजकिशोर सिंहले योजनाको शुरुआत बिन्दु ब्रह्मदेव क्षेत्रको रूख कटानको काम ‘ईआईए’ नहुँदा लामो समयदेखि रोकिएको बताए ।
‘ईआईए स्वीकृत भएसँगै अब कामको ठेक्का प्रक्रिया नियमित गर्ने बाटो खुलेको छ,’ इञ्जिनीयर सिंहले भने, ‘अब बोलपत्र आह्वान गरेर चाँडै काम अगाडि बढ्छ ।’ कुल ४२५ किलोमिटर लम्बाइ भएको कोरिडोरअन्तर्गत ब्रह्मदेवदेखि जोगबुडासम्म ११ किलोमिटर क्षेत्र पर्छ ।
त्यहाँ पर्ने रूख कटान गरी योजनाको काम अघि बढाउन आइतवार मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डँडेलधुरा, बैतडी हँुदै दार्चुला र त्यसपछि चीनको ताक्लाकोट जोड्ने सडकअन्तर्गत बैतडी, दार्चुलाको हिकिला र सुन्सेरा क्षेत्रमा काम भइरहेको सिंहको भनाइ छ ।
ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म सडक निर्माणका लागि चालू आवमा ३२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले ब्रह्मदेव क्षेत्रको ठेक्का आह्वान गरेर योजना अघि बढाउन ढिलाइ गर्न नहुने बताए ।
मानसरोवर जाने भारतीय पर्यटकलाई मात्रै प्राथमिकतामा राख्न सके यहाँ पर्यटकीय दृष्टिकोणले पनि सुदूरपश्चिम अग्रस्थानमा आउने उनको भनाइ छ । ‘कोरिडोर बनेपछि मानसरोवर जाने तीर्थयात्रुलाई धेरै सहज हुन्छ,’ उनले भने, ‘त्यसपछि यहाँको धार्मिकसँगै आर्थिक विकासमा टेवा पुग्नेछ ।’
नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि महाकाली कोरिडोर सडक निर्माण योजनाको अवधारणा अगाडि सारिएको भए पनि कोरिडोरअन्तर्गत डँडेलधुरा, बैतडी र दार्चुला क्षेत्रमा पनि निर्माणको गति भने सुस्त छ ।
३ वर्षअघि महाकाली कोरिडोरअन्तर्गत चार जिल्लामा ट्र्याक खोल्न ५२ करोडमा ठेक्का सम्झौता भएको थियो । कोरिडोरअन्तर्गत डँडेलधुरामा ११ किलोमिटर, बैतडीमा ५७ किलोमिटर र दार्चुलामा कुल ६७ किलोमिटर सडक खण्डको ट्र्याक खुलेको छ ।
दार्चुला तिंकर सडकखण्डको कुल १३४ किलोमिटरमध्ये ठेक्का नलागेको ८७ किलोमिटर व्यास गाउँपालिका–२ कोठेधारदेखि तिंकरसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । योजना कार्यालयका इञ्जिनीयर सिंहले सेनाले पनि ट्र्याक खुलाउन जनशक्ति व्यवस्थापनलगायत तयारी गरिरहेको बताए ।
‘सेनाले पनि निर्माणस्थलमा कामको तयारी गर्न व्यवस्थापनमा जुटिरहेको देखिन्छ,’ उनले भने, ‘कोरिडोरका लागि सैनिक जनशक्ति दार्चुला आइसकेकोे छ ।’