हात्तीपाइले रोग निवारणमा चुनौती

 शिक्षित र जानेबुझेकै कतिपय व्यक्तिले नै औषधि खान आनाकानी गर्दा हात्तीपाइले रोग निवारणमा चुनौती देखिएको छ । सरकारले हात्तीपाइले रोगविरुद्ध निःशुल्क रुपमा औषधि खुवाउने अभियान थालेको लामो समय भइसके पनि सुदूरपश्चिम प्रदेशको कैलालीसहित देशभरका १२ जिल्लामा यो रोग अझै निवारण हुन नसकेको जनाइएको छ ।

 जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले सुदूरपश्चिम प्रदेशका धेरै जिल्लामा यो रोग निवारण भइसकेको भए पनि तराईको कैलाली जिल्लामा निवारण हुन नसक्दा जिल्लामा यो रोग एक मुख्य जनस्वास्थ्य समस्याका रुपमा देखिएको बताउनु भयो । सुदुरपश्चिम प्रदेशको तराईको जिल्ला कञ्चनपुरमा आठौं पटकसम्म औषधि खुवाउँदा त्यो जिल्ला निवारण उन्मुख भएको र सुुदुरपश्चिम प्रदेशका पहाडी क्षेत्रका अन्य सात जिल्लामा हात्तीपाइने रोग निवारण भइसकेको भएपनि औषधि खानुपर्ने जनसङ्ख्याले नखाइदिँदा कैलालीमा भने हात्तीपाइने रोग निवारण गर्न समस्या भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामीले बताउनु भयो ।

 हात्तीपाइने रोगको निवारण हुन नसकेपछि कैलालीमा यही चैत २० देखि ३० गतेसम्म नवौंपटक हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान सुरु गरिँदैछ । यसअघि कैलाली जिल्लामा आठ पटकसम्म हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइएको थियो । चैत २० गतेवाट सुरु हुने नवौंपटकको अभियानअन्तर्गत कैलालीका सबै १३ पालिकामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकामार्फत् आठ लाख ५१ हजार जनसङ्ख्यालाई हात्तीपाइने रोगविरुद्धको औषधिको चक्की खुवाइने छ । सुदुरपश्चिम प्रदेशका पहाडी क्षेत्रका जिल्लामा ६ पटकसम्म हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउँदा रोग निवारण भइसकेको जनाइएको छ ।

 हात्तीपाइले रोगको सङ्क्रमणबाट बढी प्रभावित जिल्लाका रुपमा देखिएको कैलालीमा कूल जनसङ्ख्याको झण्डै ६ प्रतिशतमा हात्तीपाइने रोगको सङ्क्रमण रहेको तथ्याङ्क छ । कूल जनसङ्ख्याको एक प्रतिशतभन्दा कम सङ्क्रमित फेला परेमा यो रोग निवारण भएको मानिन्छ । ग्रामीण क्षेत्रका बासिन्दाले यो औषधि खाने दर शहरी क्षेत्रको तुलनामा बढिरहेको बताइएको छ । दुई वर्ष उमेर माथिका, दीर्घ रोगी, गर्भवती महिला, सिकिस्त बिरामी, मुटु कलेजो रोगी, मिर्गौला, छारेरोगीबाहेकका सबैले हात्तीपाइने रोगविरुद्धको औषधि खानुपर्ने हुन्छ । अपाङ्गताका प्रमुख दुई कारणमध्ये दोस्रो कारण हात्तीपाइले रोग नै रहेको बताइन्छ ।

 नेपालमा सन् २०२८ सम्म यो रोग निवारण गरिसक्ने लक्ष्य राखिएको छ । यसअघि नेपालमा सन् २०२० सम्म यो रोगको निवारण गरिसक्ने लक्ष्य राखिएको भएपनि सबै जिल्लामा निवारण हुन नसक्दा अवधि थपिएको हो । नेपालका तराईका जिल्लामा यो रोगको बढी समस्या छ । यो रोग लागेमा हातखुट्टा र ग्रन्थी सुनिने, हाइड्रोसिल हुने, स्तनमा गिर्खा देखिनेलगायतका समस्या भई समयमै उपचार हुन नसकेमा मानिसमा अपाङ्गता हुने गर्दछ ।

 क्युलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोगको सङ्क्रमण देखिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा उत्पन्न हुने तीन प्रजातिको परजीविको आयु वर्षौंसम्म रहने र यसैको कारण मानिसमा हात्तीपाइले रोग लाग्ने जनाइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.