सु.प.प्रदेशमा दुई लाखभन्दा भन्दा बढीले कोरोना भाइरसविरुद्ध खोप लगाए

 सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई लाखभन्दा भन्दा बढी व्यक्तिले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले मंगलवार एक विज्ञप्ति जारी गर्दै गत माघदेखि हालसम्म कूल दुई लाख दुई हजार ८०८ जनालाई खोप दिइएको जनाएको छ । सो अभियानमा सुदुरपश्चिम प्रदेशमा रहेका नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम डडेल्धुराका व्यक्तिले खोप लगाएका छन् ।

 कैलालीमा सबैभन्दा बढी ६३ हजार ३९७ लाई खोप दिइएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनुभयो । यस्तै, कञ्चनपुरमा ३० हजार २ सय २३, अछाममा २० हजार ५ सय ७४, दार्चुलामा १७ हजार १ सय ७९, बझाङमा १६ हजार ९ सय ७३, बैतडीमा १६ हजार १ सय ९५, डोटीमा १४ हजार ६ सय ९७, बाजुरामा १२ हजार ३ सय २६ र डडेल्धुरामा ११ हजार २ सय ४४ जनाले खोप लगाएका हुन् ।

 अभियानमा पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापन गर्ने कर्मचारी, एम्बुलेन्स चालक, दोस्रो चरणमा कर्मचारी, सञ्चारकर्मी, सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि र तेस्रो चरणमा ज्येष्ठ नागरिकलाई खोप दिइएको हो । सुदूरपश्चिमसहित देशभरि नै गत माघ १४ गतेदेखि नै उक्त अभियान शुरु गरिएको थियो । प्रदेशमा खोप अभियानको शुभारम्भ सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नुभएको थियो भने पहिलो खोप स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले लगाउनु भएको थियो ।

सम्बन्धित

Comments are closed.