बैतडीमा यो वर्ष गहुँबालीको उत्पादनमा कमी हुने भएको छ । खडेरीका कारण बैतडीमा यो वर्ष गहुँबालीको उत्पादनमा कमी हुने भएको हो । बैतडीमा धेरै जसो जमीनमा लगाइने बाली आकासे पानीको भरमा निर्भर रहेको छ । गहुँ छर्ने समयमा अलि अलि पानी परेको थियो । त्यहि पानीका भरमा कृषकहरुले गहुँ छरेका थिए । गहुँ उम्रिन थालेदेखि हालसम्म पानी नपरेपछि उम्रिएका गहुँ पनि सुक्न थालेको छ । गहुँवाली सुकेपछि किसानहरु खाद्यान्न संकट हुने चिन्तामा रहेका छन् ।
लामो समयदेखि पानी नपर्दा हिउँदेबालीको उत्पादनमा ह्रास आउने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख दिलबहादुर सिंहले बताउनु भयो । खडेरीका कारण बालीनाली सुकेपछि बाहिरबाट आयात गर्नुपर्ने खाद्यान्न परिमाण वृद्धि हुने उहाले बताउनु भयो । बैतडीमा १७ हजार ५०० हेक्टरमा गहुँ खेती गरिंदै आएको भएपनि ८ हजार हेक्टरमा मात्रै सिंचाईको सुविधा रहेको छ । सिंचाईको सुविधा नभएका ठाउँमा कतिपय किसानहरुले गहुँबाली छर्नै पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुकेको किसानहरुले बताएका छन् ।
छरेको बीउ पनि नफर्किएपछि साह्रै दु ः ख लागेको स्थानिय किसान राम सिह मंगोलाले बताउनु भयो । उहाको जस्तै पीडा यतिखेर बैतडीका धेरै किसानको छ । स्थानिय सरकारले यो वर्ष खाद्यान खरीदमा राहत दिनु पर्ने उहाहरुको माग छ । हिउँदमा बर्षा नहुँदा सिंचाई सुविधा नभएका बैतडीका विभिन्न ठाउँमा गहुँबाली सुकिसकेका छन् । खडेरीका कारण उत्पादनमा २५ देखि ३० प्रतिशत कमी आउने आँकलन गरिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।
Comments are closed.