सुन्दरीफाँटा गाउँ गहुँ खेतीको उर्वर भूमिका रुपमा परिचित

 कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर १ सुन्दरीफाँटा गाउँ गहुँ खेतीको उर्वर भूमिका रुपमा परिचित भएको छ । गहुँ खेतीका लागि किसानले आधुनिक यन्त्र, उपकरण, उन्नत जातको गहुँको बीउ र मलको प्रयोग गर्न थालेपछि प्रतिवर्ष गहुँको उत्पादन बढ्दो रुपमा रहेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चौधरी थारू गहुँ ब्लक समिति गठन गरेपछि यस क्षेत्रले गहुँ उत्पादनमा कोल्टे फेरेको छ ।

 विगतमा खानका लागि मुस्किलले पुग्ने जग्गामा हाल पर्याप्त गहुँ उत्पादन हुने गरेको छ । खानका लागि घरमा राखेर किसानले गहुँ बेच्नसमेत थालेका छन् । कृषि यन्त्र र उपकरणको प्रयोगले गहुँको उत्पादनमा वृद्धि भएको ब्लक समितिका संयोजक श्रीराम चौधरीले बताउनु भयो । गोरुको प्रयोग गरेर गहुँ लगाउँदा खेतमा राम्ररी नउम्रने र माटोलाई मसिनो बनाउन नसक्दा समस्या हुने गरेको बताउदै अध्यक्ष चौधरीले हाल गहुँ खेतीका लागि आधुनिक प्रविधिको प्रयोग गर्न थालेपछि उत्पादन बढेको बताउनु भयो । पहिला खानकै लागि ठिक्क हुने गहुँ बेचेर घर खर्च चलाउँदै आएका उहाले बताउनु भयो ।

 परियोजनाअन्तर्गत ब्लकमा आबद्ध किसानले तालीमसमेत पाएका छन् । रोग किराको निदान गर्न र माटो सुहाउँदो बीउको छनौट गर्न किसान सक्षम भएका छन् । खेतमा विगतको जस्तो आकासेपानीको भर पर्नुपर्ने दिनको अन्त्य भएको छ । खेतखेतमा सिँचाइका लागि पम्पसेट र विद्युतीय मोटर जडान गरिएका छन् । आवश्यकताका आधारमा किसानले खेतमा सिँचाइ गर्दै आएका छन् । गहुँ खेतमा छर्ने कार्यदेखि गहुँ थ्रेसिङ गरी भकारीसम्म राख्ने कार्य कृषि औजार र यन्त्रको सहायताले गरिँदै आएको छ । गोरुको ठाउँमा किसानले पावर टिलर राखेका छन् । हाल गहुँको उत्पादन बढेर १० कट्ठामा १० देखि १५ क्विन्टलसम्म गहुँको उत्पादन हुन थालेको छ ।

 कृषि उपकरण पाइएपछि सुन्दरीफाँटाका किसानहरुको आर्थिक अवस्थामा सुधार आएको कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहनबहादुर बस्नेतले बताउनुभयो । कृषिमा प्रतिवर्ष पाइने अनुदान रकम गाउँका किसानले सदुपयोग गरेका छन् । ब्लक समितिका सदस्य गयाप्रसाद चौधरीका अनुसार परियोजनाअन्तर्गत गठन भएको थारू गहुँ ब्लक समितिलाई गत वर्ष कृषि ज्ञान केन्द्र कञ्चनपुरबाट पावर टिलर १२, पम्पसेट २३, जिरो भेटर दुई, विद्युतीय मोटर १३ वटा जिआई पाइप ५८४ फिट, जिई जाली पाइप १६, बलसेट १६ वटा उपलब्ध गराइएको थियो । जसका लागि कूल रकम ४८ लाख ७८ हजार ३७५ खर्चिएको थियो ।

 त्यसमा कृषि ज्ञान केन्द्रबाट २३ लाख दुई हजार ५६१ र जनश्रमदान २५ लाख ७५ हजार ८१४ लागेको थियो । चालु आवमा थारू गहुँ ब्लकलाई बोरिङ जिआई पाइप ७० फिट, पम्पसेट इन्जिन तीन, जिआई जाली पाइप तीन, जडान सामग्री वाल सेट तीन, पावर टिलर ती, रिपर तीन, गहुँ चुटने थ्रेसर एक, स्प्रेयर ट्याङ्की १७, जिङ्क मल १९३ किलो, गहुँको बीउ २३ क्विन्टल, विषादी ३५ लिटर उपलव्ध गराइएको छ । जसका लागि कृषि ज्ञान केन्द्रबाट नौ लाख ६८ हजार ९४९ र जनश्रमदान सात लाख ७४ हजार ९४७ रकम लागेको छ ।

सम्बन्धित

Comments are closed.