सुदूरपश्चिम प्रदेश सभामा दुई वटा विधेयक टेबुल भएको छ । मङ्गलबार बसेको प्रदेश सभा बैठकमा सुदूरपश्चिम प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ र सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ टेबुल गरिएको हो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले प्रदेश सभामा दुवै विधेयक टेबुल गर्नु भयो । सो क्रममा उहाँले सुदूरपश्चिम प्रदेशमा रहेको पर्यटकीय क्षेत्रको संरक्षण, संवर्धन गर्न तथा पर्यटकीय विकासको माध्यमबाट आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले सुदूरपश्चिम पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तयार पारिएको बताउनुभयो ।
पर्यटकको सुरक्षाका लागि नीतिगत व्यवस्था गर्न विधेयकले सहयोग पु¥याउने मन्त्री भट्टको भनाइ थियो । यसैगरी, प्रदेशभित्र रहेका वनहरुको संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तयार पारिएको जनाइएको छ । सुदुरपश्चिम प्रदेश सरकारले सामुदायिक वन, कबुलियती वन, चक्लाबन्दी वन, धार्मिक वनको संरक्षण र व्यवस्थापन गर्नमा विधेयकले सहयोग पु¥याउने मन्त्री भट्टले बताउनुभयो ।
यसैगरी, प्रदेश सभा सदस्य उमा वादीले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका वडा नम्बर ३ का वादी परिवारका उचित बसोबासको व्यवस्था मिलाउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । उहाँले रोजगारीका लागि भारत गएका वादी परिवारको जग्गा विद्यालय र सशस्त्र प्रहरीले कब्जा गरेको उल्लेख गर्नुहुँदै सो जग्गामा बसोबासको व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्नुभयो ।
सुदुरपश्चिम प्रदेश सभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले सभाबाट पारित भइसकेको प्रदेश लोकसेवा आयोग ऐन संशोधन गर्न बनेको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको जानकारी गराउनुभयो । यसैगरी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफू नियमित १० पटकसम्म प्रदेश सभामा उपस्थित हुन नसकेको कारणसहित पत्र पठाउनुभएको सभामुख थापाले जानकारी गराउनुभयो । सो पत्रलाई स्वीकृतिका लागि प्रदेश सभामा प्रस्तुत गरिएको थियो । प्रदेश सभाको अर्को बैठक चैत २५ गते बोलाइएको छ ।
Comments are closed.