सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशका नवनियुक्त अध्यक्ष यज्ञराज बोहरालाई बुधवार पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । प्रदेश प्रमुखको कार्यालय कैलाली धनगढीमा आयोजित शपथग्रहण समारोहमा नवनियुक्त अध्यक्ष बोहराले आफ्नो शपथलगत्तै सदस्य लक्ष्मण खड्का र भागरथी राना थारूलाई शपथ गराए ।
समारोहमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री, भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री, सभामुख, उपसभामुख, प्रदेशसभामा विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता, प्रदेशका मुख्य न्यायाधिवक्ता, कैलालीका प्रमुख जिल्ला अधिकारीलगायत उपस्थित थिए । प्रदेश सरकारको सिफारिसमा प्रदेश लोकसेवा आयोग ऐन २०७६ बमोजिम प्रदेश प्रमुख पन्तले प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशका पदाधिकारीलाई यही चैत ९ गते नियुक्त गर्नु भएको थियो । डडेलधुराको अजयमेरु निवासी आयोगका नवनियुक्त अध्यक्ष बोहरा यसअघि कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो ।
यस्तै, आयोगका नवनियुक्त सदस्य खड्का अछामको साँफेबगरका र अर्का सदस्य राना कञ्चनपुरको लालझाडी निवासी हुन् । नेपालको संविधानको धारा २४४ मा प्रदेश लोकसेवा आयोगसम्बन्धी व्यवस्था गरिएको छ ।