कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारी स्थित इलाका प्रहरी कार्यालय झलारीले “प्रहरी संग १(एक) दिन कार्यक्रम” मार्फत प्रहरी कार्यालयबाट प्रदान गरीने सेवाहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएको छ । शुक्लाफाटा नगरपालिकामा रहेको चन्द्रसुर्य माध्यमिक बिद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत ३५ जना बिद्यार्थीहरुलाई बिहीबार प्रहरी कार्यालयबाट प्रदान गरीने सेवाहरुको बारेमा जानकारी गराइएको हो ।
ईलाका प्रहरी कार्यालय झलारीका कार्यालय प्रमुख प्रहरी निरीक्षक कर्ण बहादुर बोहराले विद्यार्थीहरुलाइ सम्पुर्ण शाखाहरु, हिरासत कक्ष र कार्यालयको अवलोकन भ्रमण गराइएको जानकारी दिनु भयो । साथै उहाले बिद्यार्थी भनेका भबिष्यका कर्णाधार भएकाले विद्यार्थीहरुले मात्रै सचेत भई दिए अधिकांश अपराधहरु रोकथाम हुने बताउदै अपराध रहित समाजको निर्माण गर्न बिद्यार्थी वर्गहरुले सचेत हुन जरुरी रहेको बताउनु भयो ।
यस्तै बिद्यार्थीहरुलाई प्रशिक्षण गराई शुक्लाफाटा नगरपालिकाका विभिन्न बिद्यालयहरुमा इलाका प्रहरी कार्यालय झलारीबाट निरन्तर विविध सचेतनामुलक कार्यक्रमहरु संचालन भई रहेको बताउदै प्रहरी निरीक्षक बोहराले अबका दिनहरुमा समेत निरन्तर यस्ता सचेतनामुलक कार्यक्रमहरु गरिने बताउनु भयो ।
Comments are closed.