कञ्चनपुरको वेदकोट नगरपालिकामा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । वेदकोट नगरपालिकाको वडा नम्बर ५ र ६ जोड्ने तल्लो धरमपुर र सिसैया जोड्ने झोलुङ्गे पुलको शिलान्यास गरिएको हो । एक सय १८ मिटर लम्बाइको सो पुल निर्माण कार्य बिहीबारबाट सुरु गरिएको र यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजनासहित काम अगाडी बढाइएको कञ्चनपुरको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले बताउनु भयो ।
उहाका अनुसार ९७ लाख ५६ हजार २ सय १० रुपैयाँको लागतमा पुल निर्माण गर्न लागिएको हो । यसका लागि झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट ८२ लाख २४ हजार ९ सय ६९ रुपैयाँ, उपभोक्ता समितिबाट १९ लाख ५ हजार १ सय २४ रुपैयाँ र नगरपालिकाबाट ५ लाख ८५ हजार ३ सय ७२ रुपैयाँ छुट्याइएको नगर प्रमुख चन्दले जानकारी दिनु भयो । त्यस्तै झोलुङ्गे पुल सहयोग इकाइले ७ लाख ५० हजार ७ सय ४४ रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने वेदकोट नगरपालिकाका नगर प्रमुख चन्दले बताउनु भयो ।