बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ३ र ४ मा सोलार लिफ्ट योजना सञ्चालन गरिएको छ । वर्षौंदेखिको खानेपानी समस्या समाधान गर्नका लागि सोलार लिफ्ट योजना सञ्चालन गरिएको हो । खानेपानीको अभाव खेपिरहेका १ सय ९६ घरधुरीलाइ अहिले राहत मिलेको छ । विद्युत् नपुगेकाले गाउँमा सौर्यऊर्जा जडान गरी योजना सञ्चालन गरिएको छ ।
स्थानीयबासी दीपेन्द्रबहादुर माडले पानीको मुहान तल र बस्ती माथि हुँदा लामो समयदेखि खानेपानी समस्या भोगेको बताउनु भयो । खानेपानीको अभावकै कारण बालबालिकाको पढाइ प्रभावित हुँदै आएकोमा अहिले नियमित बनेको र पानीको लागि राति उठेर खोला जानुपर्दा जोखिम मोल्नुपर्ने अवस्था रहेकोमा अहिले गाउँमा खानेपानी सुविधा पुगेपछि विकास भित्रिएको अनुभूति भएको माडले बताउनु भयो । अर्का स्थानीय कमल बोहराले उपभोग गरेर बचेको पानी करेसाबारीमा प्रयोग गर्दै आइरहेका बताउनु भयो ।
बोहराका अनुसार गाउँमै धारा बनेपछि पशुचौपायालाई पानी खुवाउन र सरसफाइ गर्न सजिलो भएको छ । योजनाका प्राविधिक सिकेन्द्र बहादुर दौल्यालले एक घर एक धाराको अवधारणा अनुसार दुर्गाथली गाउँपालिकाको वडानम्बर ३ र ४ को बस्ती मा १ सय ९६ धारा निर्माण गरिएको बताउनु भयो । यसैगरी बझाङको दुर्गाथली गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको साझेदारी र सामाजिक तथा प्राविधिक बिकास सेवा समूह बझाङको सहयोगमा १ करोड २५ लाख रुपैयाँको लगानीमा उक्त योजना सम्पन्न भएको छ ।
अहिले काँडागाउँ, देउलेख, थलचौरमा पानी पु¥याइएको र सेला गाउँमा केही दिनमा पानी वितरण गरिने सोलार लिफ्ट योजनाका प्राविधिक दौल्यालले बताउनु भयो । साथै ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका फिल्ड संयोजक कृष्ण प्रसाद जोशीले घरघरमा धारा मात्र नभएर समुदाय स्तरमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमहरु पनि गर्दै आएको बताउनु भयो । बझाङको दुर्गाथली गाउपालिका वडा नम्बर ३ का वडाअध्यक्ष दलबहादुर धामीले योजनालाई दिगो बनाउन स्थानीयबासीको सक्रियता जरुरी रहेको बताउनु भयो ।