डोटीका दुई वटा स्थानीय तहमा वर्षौँसम्म पनि एमबिबीएस चिकित्सक नहुँदा अपाङ्गता परिचयपत्र वितरण गर्न समस्या हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि साविकको महिला तथा बालबालिका कार्यालयले प्रदान गर्ने अपाङ्गता परिचयपत्र अहिले स्थानीय तहले वितरण गर्ने प्रावधानअनुसार परिचयपत्र वितरण कार्य शुरु गरिए पनि चिकित्सक नहुँदा वितरणमा समस्या हुँदै आएको कर्मचारीको गुनासो छ । डोटीको शिखर नगरपालिका तथा बोगटान फुड्सिल गाउँपालिकाले अहिलेसम्म चिकित्सक राख्न नसकेका कारण त्यहाँका अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र पाउन सकस हुँदै आएको बताइएको छ ।
अपाङ्गता परिचयपत्र वितरण गर्न मेडिकल रिपोर्टमा एमबिबीएस चिकित्सकले प्रमाणित गरेको हुनुपर्ने प्रावधान भए पनि डोटीका अधिकांश स्थानीय तहमा चिकित्सक तथा मेडिकल अधिकृत नभएका कारण अपाङ्गता परिचयपत्र वितरणमा समस्या भएको जोरायल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ध्वजबहादुर देउवाले बताउनु भयो । उहाले महिला विकास कार्यालयले विगतमा वितरण गर्दै आएको अपाङ्गता परिचयपत्र वितरणको जिम्मा स्थानीय तहलाई दिइएको बताउदै कतिपय स्थानीय तहमा चिकित्सक नै नरहेका बताउनु भयो ।
एमबिबीएस चिकित्सक राखिएका यहाँका कतिपय स्थानीय तहमा चिकित्सकको योग्यता, क्षमताअनुसारका उपकरण नभएका कारण उहाहरु नै स्थानीय तहमा बस्न नरुचाउने गरेको स्थानीयवासीहरुले बताएका छन् । स्थानीय तहमा पछिल्लो समय जिल्ला बाहिरबाट मेडिकल अधिकृत झिकाएर अपाङ्गता भएका व्यक्तिलाई प्रमाणित गरी परिचयपत्र वितरण गर्नुपर्ने अवस्था सिर्जना हुँदै आएको बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले गुनासो गर्नु भयो । उहाले अपाङ्गता परिचयपत्रका लागि निवेदन दर्ता हुने गरेका छन्, हामीसँग मेडिकल अधिकृत नभएका कारण जिल्ला सदरमुकाम तथा बाहिरबाट झिकाएर प्रमाणित गर्नुपरेकाले गाह्रो भइरहेको बताउनु भयो ।
दुई नगरपालिका तथा सातवटा गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा दिपायल सिलगढी, केआइसिंह, जोरायल, आदर्श, सायल, पूर्वीचौकी तथा बडिकेदारमा मात्रै चिकित्सक राखिएको छ भने शिखर नगरपालिका र बोगटान फुड्सिल गाउँपालिकामा अहिलेसम्म चिकित्सक नभएका कारण अपाङ्गता परिचयपत्र वितरणमा समस्या भएको बताइएको छ । आफ्नो नगरपालिकामा चिकित्सक नभएका कारण अपाङ्गता परिचयपत्रका लागि आउने गरेका निवेदकलाई जिल्ला अस्पतालका चिकित्सकबाट अपाङ्गता भएको बारेमा प्रमाणित पत्र लिएर आउने सल्लाह दिने गरेको डोटीको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताउनु भयो ।
स्थानीय तहले अपाङ्गता परिचयपत्र वितरणको जिम्मेवारी पाएपछि चिकित्सक नभएका कारण गाउँमै अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र पाउन निकै कठिन भएको अपाङ्ग सेवा सङ्घ डोटीकी सीता रायमाझीले गुनासो गर्नु भयो । अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरणमा सहज गर्न समेत उहाले सबैमा आग्रह गर्नु भयो ।