विश्व हिन्दु युवा सङ्घ जिल्ला कार्य समिति कैलालीद्धारा जिल्ला प्रशासन कार्यालय कैलालीलाई ध्यानाकर्षण पत्र बुझाईयो

 छाडा गाई व्यवस्थापनका लागि गौशाला निर्माणमा प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्ने माग गर्दै विश्व हिन्दु युवा सङ्घ जिल्ला कार्य समिति कैलालीले जिल्ला प्रशासन कार्यालय कैलालीमा ध्यानाकर्षण पत्र बुझाएको छ । सङ्घका अध्यक्ष दिनेश कलेलले कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई सो ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।

 गाई व्यवस्थापनका नाममा स्थानीय, प्रदेश र केन्द्र सरकारबाट करौडौं बजेट छुट्याए पनि बजेट कार्यान्वयनका क्षेत्रमा रकम हिनामिना भई कुनै उपलब्धीमूलक काम नभएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । अध्यक्ष कलेलले बुझाएको पत्रमा प्रदेश र स्थानीय सरकार छाडा गाई व्यवस्थापनमा लाचार भएर मुख दर्शक भएको उल्लेख छ ।

 ‘कैलाली जिल्लाका सम्पूर्ण नगरपालिकाहरूमा गाईगोरुहरुको उचित व्यवस्थापनका निमित्त गौशालाको निर्माण होस् भन्ने जिल्ला प्रशासन समक्ष माग गर्दछौँ’ सो ध्यानाकर्षण पत्रमा भनिएको छ । ध्यानाकर्षण पत्रमा छाडा चौपाया व्यवस्थापनका नाममा गाइको अवैध ओसार पसार तथा तस्करी बढेको जनाइएको छ ।

 पत्रमा भनिएको छ– ‘छाडा चौपाया व्यवस्थापनको नाममा गाईको तस्करी गर्ने गिरोहलाई पक्राउ गरि कडाभन्दा कडा कारबाही साथै गाई व्यवस्थापनको नाममा आएको रकम भ्रष्टाचार गर्ने जुनसुकैलाई पनि कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ ध्यानाकर्षण पत्रमा भनिएको छ । साथै गाईको तस्करी र ओसारपसारका गतिविधि नरोकेमा कडा आन्दोलन गर्ने विश्व हिन्दु युवा सङ्घ जिल्ला कार्य समिति कैलालीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.