लामो समयदेखिको खडेरीका कारण बैतडीमा यो बर्ष खाद्यान्न उत्पादनमा कमी हुने अनुमान गरिएको छ । हिउँदे बाली लगाएपछि लामो समयदेखि पानी नपर्दा उत्पादनमा ह्रास आउने अनुमान गरिएको हो । खडेरीकै कारण यो बर्ष गहुँ उत्पादनमा निकै गिरावट आउने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख दिलबहादुर सिंहले बताउनु भयो । उहाले आकाशे पानीको भरमा रहेका किसानलाई निकै समस्या परेको बताउनु भयो । बैतडीमा १७ हजार ५ सय हेक्टर जमीनमा गहुँ खेती गरिँदै आएको भएपनि ८ हजार हेक्टरमा मात्रै सिंचाईको सुविधा रहेको छ ।
सिंचाईको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँ छर्नै पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुकेको किसानहरुले बताएका छन् । यो बर्ष हिउँदमा बर्षा नहुँदा सिंचाई सुविधा नभएका ठाउँमा गहुँ बाली सुकिसकेको किसानहरुले बताएका छन् । खडेरीका कारण उत्पादनमा २५ देखि ३० प्रतिशत कमी आउने आँकलन गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उत्पादनमा ह्रास आउने संकेत देखिएसँगै बैतडी बाहिरबाट खाद्यान्न आयात वृद्धि हुनेछ । खडेरीका कारण बालीनाली सुकेपछि बाहिरबाट आयात गर्नुपर्ने खाद्यान्न परिमाण वृद्धि हुने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।
प्रत्येक बर्ष बैतडीमा हिउँदे बाली उत्पादनमा गिरावट आउने गरेको जनाइएको छ । सुख्खापनका कारण बैतडीका अधिकांश वनक्षेत्रमा पनि डढेलो लागेको छ । भोकमरीको चिन्ता खडेरीका कारण यो बर्ष उत्पादनमा कमी आउने भएपछि बैतडीका किसानलाई भोकमरीको चिन्ता बढेको छ । हिउँदे वर्षासमेत नहुँदा जिल्लाका अधिकांश ठाउँमा जमीन बाँझो रहेको छ भने गहुँ छरेका ठाउँको गहुँ पनि सुकेका छन् । सिंचाई नभएका ठाउँमा खेत बाँझै रहेकाले भोकमरीको चिन्ता बढेको बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ श्रीकोटका हेमराज गिरीले बताउनु भयो ।
अधिकांश ठाउँमा सिंचाई अभाव रहेको बताउदै उहाले लामो समयको खडेरीले खेत बाँझै रहेका बताउनु भयो । साथै सिंचाइको अभाव र आकाशे पानी नपर्दा खेतमा लगाएको बालीनाली सुकेको गिरीले बताउनु भयो । सिंचाईको अभाव रहेका ठाउँका नागरिक यो बर्ष भोकमरी हुने भन्दै चिन्तित समेत बनेका छन् । गएको मंसिरदेखि नै पानी परेको छैन ।
आकाशे पानीको भरमा खेती गर्ने ठाउँका नागरिकलाई समस्या भएको बैतडीको शिवनाथ गाउँपालिकाका रामबहादुर साउदले जानकारी दिनु भयो । लामो समयदेखिको खडेरीले बैतडीका विभिन्न स्थानमा वनजंगलका रुखहरू सुक्न थालेका छन् । रुख बिरुवामा पालुवा आउने बेलामा ठूलठूला रुखहरू सुक्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । रुखहरू सुक्दै जान थालेपछि पानीका मुहान पनि सुक्दै गएका छन् । बैतडीका अधिकांश ठाउँमा खानेपानीको समस्या भएको छ ।
Comments are closed.