महाकाली नदी किनारमा भारतले बनाइरहेको तटबन्धनको संयुक्त अध्ययन सुरु,

 महाकाली नदी किनारमा भारतले बनाइरहेको तटबन्धनको संयुक्त अध्ययन सुरु भएको छ । नापी विभाग काठमाडौंबाट केन्द्रीय नापी टोली र भारतीय सर्वे टोलीले संयुक्त रुपमा स्थलगत अध्ययन सुरु गरेको हो । ५ सदस्यीय नेपाली टोलीको नेतृत्व प्रमुख नापी अधिकृत जयानन्द जोशीले गरेका छन् । भारतबाट पनि सर्वे डिपार्टमेन्टको ५ सदस्यीय टोली निर्माणस्थलमा अध्ययनका लागि खटिएको जनाइएको छ ।

 स्थलगत अध्ययन टोलीमा दार्चुलाका सशस्त्र प्रहरी नायव उपरीक्षक र भारतबाट एसएसबीका अधिकारी पनि सहभागी छन् । दार्चुलामा २०७० सालमा महाकाली नदीमा आएको बाढीले धार परिवर्तन गर्दा नेपाली भूमि भारततिर परेको छ । भारततिर परेको नदी किनारामा भारतले १५ मिटर क्षेत्रमा तटबन्धन बनाइसकेको छ । अहिले काम भने रोकिएको छ ।

 नेपालभित्र पर्ने भूमिमा नदीले धार परिवर्तन गरेकै आधारमा तटबन्ध निर्माण गरेको भन्दै दार्चुलाबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले संसदमा कुरा उठाउनु भएको थियो । बडूले भारतले नेपाली भूमिमा एकतर्फी तटबन्ध बनाउँदा सरकार कहाँ छ भनेर प्रश्न गर्दै जवाफ माग्नु भएको थियो । कुरा उठेपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसदमा नेपाल र भारतका नापी अधिकारीले स्थलगत अध्ययन गर्ने जानकारी दिएका थिए ।

 मन्त्री ज्ञवालीले अध्ययनका क्रममा पर्खाल ठिक ढंगले बनेको छ कि छैनरु अन्तर्राष्ट्रिय सीमाको सहि ढंगले सम्मान गरिएको छ कि छैन ? भन्ने हेरिने र यसले तथ्य प्रमाणहरु अघि सार्ने बताउँदै नेपालले आफ्नो अन्तर्राष्ट्रिय सीमाको सुरक्षा तदारुकताका साथ गर्ने र यसमा नेपाल सरकार सजग रहेको बताउनु भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.