डडेल्धुराका विभिन्न सामुदायिक वनहरूमा डढेलो लागेको छ । सुक्खायामसंगै डडेल्धुराका करिब एक सय भन्दा बढी सामुदायिक र सल्लेरी वनहरूमा डढेलो लागेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुराका सातवटै स्थानीय तहमा रहेको सामुदायिक र सल्लेरी वन तथा महाभारत र चुरे क्षेत्रमा समेत डढेलो लागेको वनकर्मीहरूले बताएका छन् ।
स्थानीय उपभोक्ताको लापरबाहीका कारण जंगलमा बढी आगलागी हुने गरेको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद आचार्यले बताउनु भयो । उहाले अत्यधिक गर्मी बढ्नु र वनमा चोरी शिकारी गर्ने व्यक्ति तथा गोठालाको लापरबाहीका कारणले डढेलो लागेको बताउनु भयो । चुरोट, बिँडी खाएर जथाभावी फाल्ने तथा लापरबाहीपूर्ण तरिकाले आगो लगाइदिँदा वनमा डढेलो लाग्ने गरेको कतिपयको बुझाइ छ ।
नँया घाँस पलाउने भन्दै सामुदायिक वनका उपभोक्ताहरूले आफैं डढेलो लगाउने गरेका बताउदै डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख आचार्यले घाँस काट्नका लागि उपभोक्ताहरूले सोही आगो आगो सुक्खा मौसमका कारण नियन्त्रमा ल्याउन नसक्दा वन विनास हुने गरेको बताउनु भयो । आगो हावाका कारण नियन्त्रण गर्न नसकिने भएकाले भर्खरै हुर्किरहेका बुट्यान तथा जंगली जनावरको समेत मृत्यु हुने गरेको जनाइएको छ ।
हरेक वर्ष डिभिजन वन कार्यालयले डढेलोसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दा गर्दै पनि वनहरुमा डढेलो लागेको वन अधिकारीहरूको भनाइ छ । डिभिजन वन कार्यालय डडेल्धुराको तथ्यांकअनुसार डडेल्धुराको कुल भू–भागको ७५ प्रतिशतभन्दा बढी क्षेत्रफल वनजंगल रहेको छ । एक लाख ५३ हजार ८ हेक्टरमध्ये एक लाख १५ हजार १५९ हेक्टर क्षेत्रफलमा वन जंगल रहेको छ । बर्सेनि डडेल्धुराका ५० प्रतिशत बढी वनमा डढेलो लाग्ने गर्दछ ।
यसैविच डडेल्धुराको परशुराम नगरपालिकाको वनमा लागेको आगोले खानेपानीको पाइप जलाउँदा खानेपानीको हाहाकार भएको छ । परशुराम नगरपालिकाको वडा नम्बर ७ घुम्तेगडास्थित शीतल सामुदायिक वनमा आगलागी हुँदा खानेपानीको हाहाकार भएको सिद्ध खानेपानी उपभोक्ता समितिका अध्यक्ष दानबहादुर साउदले बताउनु भयो । उहाका अनुसार गाउँका करिब ४० घरधुरीमा पानीको समस्या भएको छ ।
खानेपानी आयोजनाको ४ सयदेखि ५ सय मिटर पाइप जलेको सिद्ध खानेपानी उपभोक्ता समितिका अध्यक्ष साउदले बताउनु भयो । परशुराम नगरपालिकाको वडा नम्बर १, २ र ३ को तिमुल पाखे खाने आयोजनाको पाइप समेत जलेर नष्ट भएको छ । खानेपानीको पाइप जल्दा उम्लेक, पातल, स्विकाणा, सालकोट, मार्कु, अचलसैनालगायतका गाउँमा पनि खानेपानीको समस्या भएको हो ।