विशु पर्वको रौनक सुदुरपश्चिम प्रदेशका विभिन्न सहर तथा गाउहरुमा छायो,

 सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानमा मनाइने विशु पर्वको रौनक सुदुरपश्चिम प्रदेशका विभिन्न सहर तथा गाउहरुमा देखिन थालेको छ । कामका लागि भारत गएकाहरु स्वदेश फर्किन थालेका छन्, कतिपय फर्कि पनि सकेका छन् । त्यसैगरी काम तथा अध्ययनको सिलसिलामा शहरमा बस्नेहरु पनि गाउ घर फर्किन थालेका हुन् । सुदुरपश्चिम प्रदेशमा नयाँ वर्षलाई विशु पर्वका रुपमा विशेष महत्वका साथ मनाइने गरीन्छ ।

 सुदुरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लाहरुमा विशु पर्वका दिन सिस्नुपानी छ्याप्ने प्रचलन रहेको छ । नयाँ वर्षको पहिलो दिन देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापेर विशु पर्व मनाइने गरिन्छ । देवर नहुने र नन्द नहुने, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैले भए पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा छ ।

 विशु पर्वका दिन सिस्नो लगाएमा विष पखालिन्छ भन्ने धार्मिक मान्यता रहेको जानकारहरुले बताएका छन् । खासगरी विशु पर्व दार्चुला, बैतडी, अछाम, डडेल्धुरा, डोटी, बंझाङ, र बाजुरामा वैशाख १ गते विशेष महत्वका साथ मनाइने गरिन्छ । कामको लागि घर बाहिर रहेकाहरु बिसु पर्वको लागि घर फर्किएका छन् भने विवाह भएका चेलीबेटीहरु माइती घर गएका छन् ।

 हरेक वर्ष बिसु पर्वमा मिठामिठा खानाका परीकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । तर पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको छ ।

 यस पर्वको अवसरमा विण्भिन्न स्थानमा मेला–जात्रा र मनोरञ्जनात्मक क्रियाकलापहरू हुने, खेलकुद प्रतियोगिताहरू आयोजना गरिने प्रचलन छ । यस वर्ष भने कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले सुरक्षित तरिकाले विशु पर्व घरमै मनाउन स्वास्थ्य क्षेत्रका जानकारहरुले आग्रह गरेका छन् । त्यसैगरी सरकारले पनि नयाँ वर्षको उपलक्ष्यमा भीडभाड नगर्न र चाडपर्वलाई सुरक्षित तरिकाले मनाउन आग्रह गरेको छ ।

 त्यसो त विशु पर्वलाई सावधानीको पर्वको रुपमा पनि सुदूरपश्चिमवासीले लिने गरेका छन् । गर्मी र वर्षात्मा अनेक रोग तथा महामारीहरू फैलन सक्ने भएका कारण यो पर्वले खानपान र सरसफाईमा समेत ध्यान दिन सन्देश दिने गरेको जानकारहरुले बताएका छन् । ‘मरुला भनेर विशु खानु, बाँचे भनेर वल्के खानु’ भन्ने भनाइले सुदूरपश्चिममा मनाइने दुई मौलिक पर्वको विशेषता झल्काउँछ । विशु बैशाख संक्रान्तिमा मनाइने पर्व हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.