बैशाख १ गते सुदुरपश्चिम प्रदेशमा विशु पर्व मनाइदै

 बैशाख १ गते नयाँ वर्षको पहिलो दिन सुदुरपश्चिम प्रदेशमा विशु पर्व मनाइदै छ । नयाँ वर्षको प्रथम दिन सुुदुरपश्चिम प्रदेशमा धुमधामसँग बिसु पर्व मनाउने गरिन्छ । गत वर्ष कोरोना भाइरसको प्रभावका कारण खासै भीडभाड गरी नमनाइएको विशु पर्व यस वर्ष पनि कोरोनाको प्रभावकैबीचमा मनाइदै छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सात पहाडी जिल्लामा नयाँ वर्षका दिन बिसु पर्व मनाउने चलन छ । मिठा परिकार खाने, रमाइलो गर्ने र सिस्नो लगाएर मनाइने यस पर्वलाई बिसु, विस्का वा विस्पती पर्व पनि भनिन्छ । पूजापाठ र आफन्तसँगको भेटघाटको लागि यो पर्व विशेष हुने गरेको छ ।

 बिसु पर्व मनाउनका लागि घरभित्र, घरबाहिर सरसफाइ, लिपपोत गरेसँगै शरीरको सरसफाइलाई समेत मुख्य रूपमा हेरिन्छ । बच्चा, बिरामीदेखि वृद्ध सबैले बिसु पर्वको दिन नुहाउनु अपरिहार्य मानिएको छ । यो दिन अरू दिनभन्दा फरक तरिकाले नुहाइन्छ । आफ्ना शरीरका प्रत्येक अङ्गलाई साबुन पानीले मिच्दै काखीको विष (रोग) गयो, घुँडाको विष गयो, घाँटीको विष गयो, तिघ्राको विष गयो, पेटको विष गयो इत्यादि भन्दै सफा पानीले पखाल्दै जानुपर्ने संस्कृतिका जानकार इन्द्रदेब जोशीले बताउनु भयो । यति भनेर सफासँग नुहाइधुवाइ गरेपछि वर्षभरि आफूलाई रोग लाग्दैन भन्ने सकारात्मक भावना मनभित्र पैदा हुने गरेको उहाँको भनाइ छ ।

 वसन्त ऋतुको रमझम, खुलेको आकाश, पालुरको समय, गहुँ पाक्ने समय, जताततै हरियालीका बिच नयाँ वर्षको सुरुवातसँगै बिसु पर्व मनाएर रमाइलो गर्ने चलन रहेको छ । बिसुको प्रमुख विशेषता नुहाइ सकेपछि शरीरमा सिस्नु लगाउने गरिएको छ । सिस्नुको झन्झनाहटले शरीरमा रहेका रोगव्याधि हट्नुको साथै छालाजन्य रोगहरूबाट छुटकारा मिल्ने, निरोगी बनाउने जनविश्वास रहेको छ । सिस्नो लगाउनुका साथै घरमै सेलरोटी, खीर, पुरी, माँडा, बटुक, मासु लगायत स्थानीय स्वास्थ्यवर्धक मिठा परिकारहरू पकाएर विसु पर्व मनाइदै छ ।

 फागुनमा शिवरात्री, चैतमा होली, रामनवमी, बिहे भइसकेर घरजम गरी माइतीको यादमा तड्पिने छोरीचेलीलाई चैत महिनाभरि माइतीपक्षबाट कोसेली बोकी भेट्न जाने चैतेलो, बिसु पर्वजस्ता सुदूरपश्चिम प्रदेशका अलौकिक चाडपर्वहरूले सबैमा धार्मीक सहिष्णुता, सद्भाव, भेटभाट, मेलमिलाप बढाउँदै आएको संस्कृतिका जानकारहरुले बताएका छन् ।

यसैविच नयाँ वर्षको पहिलो दिन बुधवार कैलाली र कञ्चनपुरमा कुनै पनि अप्रिय घटनाहरु नभएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बुधवार कैलालीमा कुनै पनि अप्रिय घटना नघटेको शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । यसैगरी कञ्चनपुरमा पनि बुधवार कुनै अप्रिय घटनाहरु नघटेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.