बझाङमा बलात्कार तथा बलात्कार प्रयासका घटना बर्षेनी बढिरहेको पाइएको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २३ वटा बलात्कारसँग सम्बन्धित घटना प्रहरीमा पुगेका छन् । यो संख्या अघिल्लो आर्थिक वर्ष ०७६÷७७ को तुलनामा दोब्बर हो । आर्थिक वर्ष ०७६÷७७ मा बलात्कार र बलात्कार प्रयासका १२ घटना प्रहरीमा दर्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय बझाङको तथ्याङ्क अनुसार जर्वजस्ती करणीका ९ वटा, जवरजस्ती करणी उद्योगका १० वटा, मानव बेचबिखन तथा जर्वजस्ती करणीको १ वटा, जर्वजस्ती करणी पश्चात कर्तव्य ज्यानको १ वटा, वैवाहिक बलत्कार एक घटना दर्ता भएका छन् । अहिले सम्म बलात्कारको आरोप लागेका आठ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् । घटनाका दुई जना प्रतिवादी फरार रहेकोले खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।
तीन जना जमानीमा छुटेका छन् । घटनामा संलग्न बालक भएकाले दुई जनालाई बाल सुधारगृहमा पठाइएको छ भने अन्यको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बलात्कार लगायतका जघन्य अपराधिक घटना आफन्त वा चिनजानकै व्यक्तिबाट हुने गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खडकाले बताउनु भयो ।
Comments are closed.