झुलाघाट नाकाबाट पाँच हजार जना नेपाली स्वदेश फर्किए

 कोरोनाको दोश्रो कहर फैलिएसँगै नेपाल–भारत जोड्ने बैतडीको झुलाघाट नाकाबाट पाँच हजार जना नेपाली स्वदेश फर्किएका छन् । एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा स्वदेश फर्किने मध्ये हालसम्म १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न स्थापना गरिएको हेल्थ डेस्कमा चैत १० गतेदेखि हालसम्म ४४२ जनाको स्वास्थ्य परीक्षण गरिएको हेल्थ डेस्कका इन्चार्ज धर्म बिकले बताउनु भयो । ईन्चार्ज विकका अनुसार भारतका ठूला सहर दिल्ली, मुम्बई लगायतका ठाउँबाट फर्किनेहरुको मात्र कोरोना परीक्षण गर्ने निर्देशन अनुसार काम भईरहेको छ ।

 नाकाबाट हालसम्म पाँचहजार नेपाली स्वदेश फर्किएका छन् । ती मध्ये ४४२ जनाको स्वाब सङ्कलन गरेर एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १४ जना कोरोना संक्रमित भेटिएका जनाइएको छ । कोरोनाको दोश्रो कहर सुरु भएपछि गत चैत १० गतेदेखि झुलाघाट नाकामै स्वाब सङ्कलन गरेर एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु भएको थियो । भारतमा कोरोना बढिरहेकै बेला भारत गएका नेपालीहरु घर फर्किनेक्रम बढेपछि कोरोना परीक्षण थालिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । भारतबाट फर्किदा कोरोना पुष्टि भएका सबै होम आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्राद भट्टले बताउनु भयो । सङ्क्रमण पुष्टि भएकाहरुमा कुनै लक्षण नदेखिएकोले स्थानीय तहको स्वास्थ्य शाखाको निगरानीमा होम आईसोलेसनमा राखिएको भट्टले बताउनु भयो ।

 कोरोनाको दोश्रो लहरसँगै भारतबाट आएका १४ जना, दशरथचन्द नगरपालिका, दोगडाकेदा गाउँपालिका र पञ्चेश्वर गाउँपालिका गरि बैतडीमा कुल १७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी महेन्द्र रावलले बताउनुभयो । कोरोनाको सङ्क्रमण बढ्दो अवस्थामा रहेकोले स्थानीय तहको सरकारलाई समयमै क्वारेन्टाईन व्यवस्थापन गर्न आग्रह गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.