वनहरा नदीमा जैविक तटबन्ध निर्माण

 कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ३ बडबैका टोलका बासिन्दाले वनहरा नदीमा जैविक तटबन्ध निर्माण गरेका छन् । वर्षायाममा नदीले कटान गरी खेतीयोग्य जमिन बगाउने भएकाले त्यसलाई रोक्न जैविक तटबन्ध निर्माण गरेका हुन् । तटबन्ध निर्माणका लागि ८० परिवारले श्रमदान गरेका छन् । चालु आर्थिक वर्षमा बडबैका टोलका बासिन्दाले नगरपालिका र नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत १० लाख रुपैयाँ लागतमा करिब ६०० तटबन्ध निर्माण गरेका छन् ।

 नदीले बर्सेनि खेतीयोग्य जमिन कटान गर्दै आएको छ । त्यसैले आगामी वर्षायाममा सम्भावित जोखिम रहेको क्षेत्रमा बाँसको जाली बुनेर तटबन्ध गरेका हुन् । जैविक तटबन्ध बनाउने कार्य निरन्तर दुई वर्षदेखि जारी रहेको जनजागरण सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष आशाराम वडायकले बताउनु भयो । नदीले जग्गा कटान गर्दा टोलका ३५ परिवारको उठिवास भएको बताउदै उहाले त्यस बेला आएको ठूलो बाढीले जग्गामात्रै नभई धेरैको घर समेत बगाएको बताउनु भयो । नदीले गर्ने कटान नियन्त्रणका लागि थुप्रै निकायमा धाउँदा पनि कसैले नसुनेको स्थानीयको गुनासो छ । नेपाल रेडक्रस सोसाइटीले सहयोग गर्ने तत्परता देखाएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले समेत सहयोगका हात अगाडि बढाएको जनाइएको छ । नदीले दुई बिघा जग्गा बगाएको स्मरण गर्दै स्थानीय सुखिना रानाले नदीमा भरपर्दो तटबन्ध नहुँदा जग्गा जोगाउन नसकिएको बताउदै हाल थोरै लगानीको जैविक तटबन्धले बस्तीनै जोगिएको बताउनु भयो । २०६४ साल असोज ४ गते लगातार चार दिन परेको ठूलो पानीका कारण नदीमा आएको बाढीले कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ३ बडबैका टोलमा ठूलो क्षति पु¥याएको थियो । नदीले जग्गा, घर बगाउन थालेपछि यस क्षेत्रका बासिन्दाले बस्ती छाडेर नजिकैको सामुदायिक वनमा आश्रय लिएका थिए । अहिले नदी किनारामा घाँस रोप्दा भूक्षय पनि रोकिएको स्थानीयहरूले बताएका छन् । तटबन्ध निर्माणका लागि सामूहिक श्रमदान गर्ने कार्यले सामूहिक भावनाको समेत विकास भएको स्थानीय तारा रानाले बताउनु भयो । गाउँ घरमा हुने विकास निर्माण, सांस्कृतिक, धार्मिक र सामाजिक कार्यमा सामूहिकताको भावना विकास हुँदै गएको उहाको भनाइ छ ।

सम्बन्धित

Comments are closed.