नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड १९)को संक्रमण उच्च दरमा बढ्दै

 नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड १९)को संक्रमण उच्च दरमा बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानीय तहका बजार क्षेत्रमा कडाइ गर्ने निर्णय गरेको छ । नौवटा स्थानीय तहमा रहेका बजार बिहान ८ देखि दिउँसो ३ बजेसम्म मात्रै खुला गर्न पाइने निर्देशन दिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका सोमवारको बैठकले अर्को व्यवस्था लागु नभएसम्म उक्त निर्देशन दिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनु भयो । उक्त अवधिमा सवारी साधन जोर–बिजोरको आधारमा सञ्चालन गर्न पाइने छ ।

 उक्त निर्णय वैशाख १५ देखि लागु हुने प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिनु भयो । भीमदत्त नगरपालिकाभित्रको सम्पूर्ण बजार, बेदकोट नगरपालिकाको दैजी बजार, शुक्लाफाँटाको झलारी बजार, कृष्ण नगरपालिकाको गुलरिया बजार, बेलौरी नगरपालिकापको बेलौरी बजार, पुनर्वास नगरपालिका सबै बजार तोकिएको स्वास्थ्यको मापदण्ड पूर्ण रूपमा पालना गरी आइतवारदेखि शुक्रवारसम्म बिहान ८ देखि दिउँसो ३ बजेसम्म खोल्न पाइने छ ।

 यसैगरी, दोधारा चाँदनी नगरपालिकाको दोधारा चाँदननी बजार, लालझाडी गाउँपालिका सबै बजार, बेलडाँडी गाउँपालिकाका सबै बजार‚ राजमार्ग छेउछाउका अन्य व्यापार, व्यवसाय तोकिएको जनस्वास्थ्यको सुरक्षा मापदण्डको पूर्ण पालना गरी सोही समयमा खोल्न पाइने जनाइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.