कोरोनाको चेन ब्रेक गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले बारका आधारमा सेवा प्रवाह

 कोरोनाको चेन ब्रेक गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले बारका आधारमा सेवा प्रवाह गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले कार्यालयबाट बारका आधारमा सेवा प्रवाह गर्ने भएको हो । बुधवार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुुलाले दार्चुलाका ९ वटै स्थानीय तहका सेवाग्राहीलाई अलग अलग बार तोकेर सेवा दिने जनाएको छ । कार्यालयमा सेवाग्राहीको भीडभाड बढ्दा कोरोना संक्रमणको जोखिम हुने भन्दै सेवाग्राहीको भीडभाड कम गरी संक्रमण नियन्त्रण गर्न प्रशासनले यस्तो योजना बनाएको जनाइएको छ ।

 कोरोना महामारीको जोखिमबाट बच्न आइतवारदेखि लागू हुने गरी बार अनुसार सेवा प्रवाह गरिने दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनु भयो । कार्यालयले नागरिकता, नाबालक परिचयपत्र, नागिरकता प्रतिलिपि, राहदानी, हातहतियार दर्ता नविकरण, संघसंस्था दर्ता नविकरण, पत्रपत्रिका दर्ता सम्बन्धी कार्यका लागि बार अनुसार सेवा दिनेछ । कार्यालयले आइतवार र सोमवारमा अपिहिमाल, मार्मा र नौगाड गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिने सूचना मार्फत जनाएको छ ।

 यस्तै मंगलवार र बुधवारमा शैल्यशिखर नगरपालिका, मालिकार्जुन र लेकम गाउँपालिकाका सेवाग्राहीलाई र बिहीवार र शुक्रवार महाकाली नगरपालिका, ब्याँस र दुहूँ गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गर्ने जनाइएको छ । सेवाग्राहीले सेवा लिन जिल्ला प्रशासन कार्यालय आउँदा स्वास्थ्य मापदण्डको अनिवार्य पालन गर्नुपर्ने जनाइएको छ । मास्क, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गरेर मात्रै कार्यालय भित्र प्रवेश गर्न भनेको छ । सेवाग्राही कार्यालय भित्र पसेपछि कार्यालयले तोकेको ठाउँमा बस्नु पर्ने तथा कम्तीमा पनि दुई मिटरको भौतिक दूरी कायम गर्नु पर्ने जनाइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.