बिहिबार सुदूरपश्चिम प्रदेशका ११ जना कोरोना संक्रमितको ज्यान गएको छ । कैलालीका ६, कञ्चनपुरका तीन, अछाम र बझाङका एक÷एक जना गरी ११ जना संक्रमितको ज्यान गएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीको गोदावरी नगरपालिका पूर्वी रोडका ८७ वर्षीया सङ्क्रमित महिलाको होम आइसोलेसनमा ज्यान गएको छ । सूचना अधिकारी जोशीले बिहीवार नै धनगढी उपमहानगरपालिकाका ४० बर्षीय पुरुषको पनि कोभिड संक्रमणबाट ज्यान गएको बताउनु भयो । उहाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
यस्तै सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ४५ वर्षीया महिलाको ज्यान गएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो । कोरोना पुष्टि भएको १२ घण्टामै ती महिलाको ज्यान गएको उहाँले बताउनु भयो । यस्तै, आइसीयुमा उपचारको क्रममा लम्कीचुहा नगरपालिका वडा नम्बर २ का ३३ वर्षीय पुरुष र घोडाघोडी नगरपालिका वडा नम्बर १० का ६० वर्षीय एक पुरुषको ज्यान गएको छ ।
घोडाघोडी नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय पुरुषको पनि उपचारको क्रममा बिहिवार ज्यान गएको छ । यसैगरी, कञ्चनपुरको महाकाली अस्पतालमा उपचारको क्रममा बिहीबार तीन जनाको ज्यान गएको छ । महाकाली अस्पतालका कोभिड स्रोत व्यक्ति डा. गोविन्द रोकायाका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर १९ का २१ वर्षीय युवकको उपचारको क्रममा ज्यान गएको छ । ब्लड क्यान्सरसंग जुधिरहेका ती युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । आइसीयुमा राखेर उपचार गर्ने क्रममा उहाँको ज्यान गएको डा. रोकायाले बताउनु भयो ।
यस्तै, भारतबाट सङ्क्रमित भएर फर्किनु भएका दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ का ३० वर्षीय पुरुषको पनि उपचारको क्रममा ज्यान गएको छ । गड्डाचौकीमा एन्टिजेन विधिबाट परीक्षण गर्दा ती पुरुषलाई सङ्क्रमण पुष्टि भएको थियो । ती पुरुष होमआइसोलेसनमा बस्नु भएको थियो । स्वास्थ्यमा समस्या आएपछि दुई दिन अगाडिमात्रै अस्पताल भर्ना भएकोमा उपचारको क्रममा उहाको ज्यान गएको हो । यसैगरी, भीमदत्त नगरपालिका वडा नम्बर १८ की ३६ वर्षीया एक महिलाको पनि ज्यान गएको छ ।
स्थानीय सङ्क्रमण भएपछि ती महिलालाई वैशाख ११ गते अस्पताल भर्ना गरिएको थियो । दोस्रो लहरको कोरोनाले निमोनिया छिट्टै बढाउने गरेको र चाँडै मान्छेको ज्यान लिइरहेको डा. रोकायाले बताउनु भयो । यसैगरी कोरोना भाइरसको संक्रमणका कारण अछामका एक जना वृद्धको ज्यान गएको छ । अछामको बान्नीगढी जयगढी गाउँपालिका वडा नम्बर ५ कालिका बाहुन गाउँका ७७ वर्षीय लोगराज ढुङ्गानाको ज्यान गएको हो । यस्तै कोरोना भाइरसको संक्रमणबाट बझाङमा एक जनाको ज्यान गएको छ । जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो ज्यान गएको स्वास्थ्य कार्यालय बझाङका काभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताउनु भयो ।
Comments are closed.